‘पुराना विदेशी लगानीको उचित ढङ्गले लेखाङ्कन गर्न आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घकाका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण (लेखाङ्कन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
बाह्रौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको बताउनुभयो ।
“उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिनु निकै सकारात्मक पक्ष हो ।”
वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको बताउनुभयो ।
निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उहाँले भन्नुभयो, “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ, अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”(रासस)




प्रतिक्रिया राख्नुहोस्