अर्थ

लगानी विस्तारका लागि सरकारी सहयोग आवश्यक : कोष

नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी विस्तारका लागि सरकारी पहल आवश्यक रहेको बताउनुभयो ।

प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्न सक्ने उहाँको भनाइ छ । कार्यकारी निर्देशक कार्कीले समान प्रकृतिका संस्थाबीचको प्रतिस्पर्धा र संस्थागत निक्षेपको ब्याजदर घट्दा आम्दानीमा गिरावट आएको उल्लेख गर्नुभयो । उहाँले तत्काल अन्य क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा ठूलो रकम कल तथा चालु खातामा रहेको जानकारी दिनुभयो ।

प्राविधिक जनशक्तिको अभाव, व्यावसायिक सफ्टवेयर स्तरोन्नतिको आवश्यकता, पुराना अभिलेखको अभाव तथा कानुनी र नीतिगत सुधारलाई उहाँले चुनौतीका रूपमा प्रस्तुत गर्नुभयो ।

कोषले नागरिक पेन्सन योजनामार्फत स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई समेट्ने, बचत सङ्कलनको दायरा विस्तार गर्ने र सरकारका प्राथमिकताप्राप्त परियोजनामा लगानी विस्तार गर्ने योजना अघि सारेको छ ।

कर्जा विस्तार, सामूहिक लगानी कोष, उपयुक्त संस्थाको इक्विटी तथा पुँजीबजारका नयाँ उपकरणमा लगानी विविधीकरण गर्ने तयारी गरिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।

बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा अनुमतिको प्रक्रिया अघि बढाइएको र पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबारदेखि समितिको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सुरु भएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.