चीन भ्रमणबाट विकास र सुशासनका अनुभव सिकेर फर्कियो रास्वपा टोली
चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा १२ दिने भ्रमणमा गएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले राजनीतिक, आर्थिक तथा विकासका विभिन्न पक्षको अध्ययन र अवलोकन गरी स्वदेश फर्किएको छ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग राजनीतिक संवाद, विभिन्न प्रान्तका विकास आयोजना तथा औद्योगिक गतिविधिको अवलोकन र विपद् व्यवस्थापन प्रणालीबारे जानकारी लिएको टोलीले त्यसबाट प्राप्त अनुभव र सुझाव पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरेको छ।
नोभेम्बर १५ देखि २६ सम्म पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डलले चीनका सिचुवान, चच्याङ र बेइजिङलगायत क्षेत्रको भ्रमण गरेको थियो।
स्वदेश फर्किएपछि महामन्त्री आचार्यले पार्टी सभापति रवि लामिछानेलाई भेटेर भ्रमणका उपलब्धि, राजनीतिक भेटवार्ता र अध्ययनका क्रममा प्राप्त अनुभवबारे जानकारी गराउनुभएको हो।
भ्रमणको महत्त्वपूर्ण पक्ष चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ता थियो। उक्त भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको महामन्त्री आचार्यले सभापति लामिछानेलाई जानकारी गराउनुभएको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय तहदेखि स्थानीय काउन्टी तहसम्मका नेताहरूसँग भएका अन्तरक्रियाबाट चीनको राजनीतिक संरचना, पार्टी सञ्चालन पद्धति र स्थानीय विकासका अभ्यासबारे समेत टोलीले जानकारी लिएको थियो।
राजनीतिक भेटघाटसँगै प्रतिनिधिमण्डलले चीनका औद्योगिक तथा व्यावसायिक क्षेत्रको अवलोकन गरेको थियो। ती क्षेत्रको उत्पादन प्रणाली, औद्योगिक विकास, प्रविधिको प्रयोग, पूर्वाधार विस्तार र आर्थिक गतिविधिको अध्ययनबाट नेपालले आफ्नो आवश्यकता र सम्भावनाअनुसार सिक्न सक्ने विषय पहिचान गर्ने अवसर प्राप्त भएको छ।
त्यस्तै, विपद् आउनुअघिको तयारी, विपद्का समयमा अपनाइने उद्धार तथा व्यवस्थापन रणनीति र विपद्पछिको पुनःस्थापना प्रणालीबारे पनि टोलीले जानकारी लिएको थियो। भोटेकोशी–त्रिशूली बाढीलगायतका विपद्बाट प्रभावित नेपालका लागि चीनको विपद् व्यवस्थापन अनुभव उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
चीनको औद्योगिक विकास, स्थानीय तहको आर्थिक परिचालन, पूर्वाधार निर्माण र प्रविधिको प्रयोगका अभ्यास नेपालका लागि अध्ययनयोग्य विषय हुन्।
यस्ता अनुभवलाई नेपालको भौगोलिक अवस्था, आर्थिक क्षमता र आवश्यकताअनुसार लागू गर्न सके औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि र विकास आयोजनाको प्रभावकारितामा सहयोग पुग्न सक्छ।
भ्रमणबाट प्राप्त अनुभवले सरकारलाई विकास नीति निर्माण र कार्यान्वयनमा तथा पार्टीलाई सांगठनिक क्षमता र नीतिगत दृष्टिकोण सुधारमा सुझाव दिन सक्ने अपेक्षा गरिएको छ।
सभापति लामिछानेले भ्रमणबाट प्राप्त राजनीतिक अनुभव, ज्ञान र सिकाइलाई पार्टीको आन्तरिक कार्यप्रणालीमा समेट्नुका साथै राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको छ।
भ्रमणका क्रममा स्थापित राजनीतिक सम्बन्ध र भएका छलफललाई व्यवहारमा उतार्न आवश्यक पहल गर्न उहाँले प्रतिनिधिमण्डललाई निर्देशन दिनुभएको छ।
चीनको सत्तारुढ दलको निमन्त्रणामा भएको यो भ्रमणलाई केवल राजनीतिक सम्बन्ध विस्तारका रूपमा मात्र नभई विकास, सुशासन, औद्योगिक प्रगति र विपद् व्यवस्थापनका अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा उपयोग गर्न सकिन्छ।
भ्रमणबाट प्राप्त सुझाव सरकारका नीति तथा कार्यक्रम र रास्वपाको राजनीतिक कार्यदिशामा कति प्रभावकारी रूपमा समेटिन्छन् भन्ने कुराले यसको वास्तविक उपलब्धि निर्धारण गर्नेछ।




प्रतिक्रिया राख्नुहोस्