जन सरोकार

हिसानको ३०औँ स्थापना दिवस, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञहरूले नेपालको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्तिबारे धारणा राख्नुभएको थियो ।

उहाँहरूले विद्यार्थी पलायन रोक्न स्वदेशमै गुणस्तरीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि हिसानले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने उहाँहरूको भनाइ थियो ।

हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रको विकासमा संस्थाले योगदान गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रमा संस्थाका गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले शिक्षा क्षेत्रमा हिसानले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले संस्थाले आफ्नो योगदानलाई थप विस्तार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

स्थापना दिवसकै अवसरमा हिसानले आज बिहान काठमाडौँमा म्याराथन दौडसमेत आयोजना गरेको थियो।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.