मियागी पहाडी क्षेत्रमा दुई शव फेला, योकोहामाबाट बेपत्ता भएकी किशोरीको हुनसक्ने
जापानको कानागावा प्रान्तीय प्रहरीले शनिबार मियागी प्रान्तको शिचिकाशुकु नगरस्थित पहाडी क्षेत्रमा दुई शव फेला परेको जनाएको छ। फेला परेका शवमध्ये एक योकोहामाबाट बेपत्ता भएकी किशोरीको हुनसक्ने अनुसन्धान स्रोतले जनाएको छ।
शवको पहिचान गर्ने प्रक्रिया जारी रहेको र तीकानागावा प्रहरीले १६ वर्षीया हाईस्कुलको प्रथम वर्षमा अध्ययनरत किशोरीलाई अपहरण गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ।
अनुसन्धान स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति मियागी प्रान्तको ओगावारा निवासी ३३ वर्षीय माकोटो ओगा हुन्। उनले आरोप स्वीकार गरे वा नगरेकोबारे स्पष्ट भइसकेको छैन।
घटनाको अनुसन्धानका लागि कानागावा र मियागी प्रान्तीय प्रहरीले संयुक्त अनुसन्धान टोली गठन गरेका छन्। कानागावा प्रहरीले जनाएअनुसार किशोरीका परिवारले अक्टोबर २६ मा उनी बेपत्ता भएको उजुरी दिएका थिए।
परिवारले अघिल्लो दिन उनलाई स्थानीय रेल स्टेसनमा छाडेको तर त्यसपछि घर नफर्किएको भन्दै प्रहरीमा रिपोर्ट गरेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले निगरानी क्यामेराका दृश्यहरू संकलन तथा विश्लेषण गर्दै किशोरी चिबा प्रान्तको काशिवा पुगेका बेला रेलबाट ओर्लिएपछि चढेको हुन सक्ने एउटा शंकास्पद गाडी पहिचान गरेको थियो।
उक्त गाडी चलाउने व्यक्तिको पहिचान गरेपछि प्रहरीले नोभेम्बर १८ मा मियागी प्रान्तबाट उनलाई पक्राउ गरेको हो। पछि उक्त गाडी शिचिकाशुकु क्षेत्रतर्फ गएको पुष्टि भएपछि प्रहरीले पहाडी क्षेत्रमा खोजी गरेको थियो।
सोही क्रममा दुई शव फेला परेका हुन्। मृत्युको कारण र अन्य विवरण पत्ता लगाउन सोमबार शवको फरेन्सिक परीक्षण (पोस्टमार्टम) गरिने प्रहरीले जनाएको छ।
समाचार स्रोत : द जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्