जापानको तल्लो सदनले नोभेम्बरको सुरुवातमा आगामी वर्ष अप्रिलदेखि दुई वर्षका लागि खाद्यवस्तुमा लाग्दै आएको उपभोग कर ८ प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गर्ने विधेयक पारित गरेको छ। विधेयक थप छलफलका लागि संसद्को माथिल्लो सदनमा पठाइएको छ।
कर कटौती सरकारको बढ्दो महँगीबाट परिवारलाई राहत दिने प्रयासको प्रमुख कार्यक्रम हो। तर कच्चा पदार्थ र उत्पादन लागत बढिरहेको अवस्थामा व्यवसायीले कर कटौतीलाई मूल्य बढाउने अवसरका रूपमा प्रयोग गर्न सक्ने जोखिम देखिएको छ। सरकारले ‘अवसरवादी मूल्यवृद्धि’ नगर्न चेतावनी दिए पनि उपभोक्ताले खाद्यवस्तुमा वास्तवमै कति मूल्य राहत पाउँछन् भन्ने स्पष्ट छैन।
कागजी बचत मात्रै हुने जोखिम
प्रधानमन्त्री साने ताकाइचीले अक्टोबर १६ मा संसद्मा सम्बोधन गर्दै कर कटौतीपछि पनि खुद्रा विक्रेताले मूल्य यथावत् राख्न नहुने संकेत गर्नुभएको थियो। कर घटेपछि पनि अघिल्लो दिनकै मूल्यमा वस्तु बिक्री गर्नु अप्रत्यक्ष रूपमा मूल्यवृद्धि गरेसरह हुने उहाँको भनाइ थियो।
“कर कटौती भएको दिनअघिकै मूल्यमा सामान बिक्री गर्नु कम्पनीको प्रतिष्ठाका लागि हानिकारक हुनेछ,” ताकाइचीले भन्नुभएको थियो। उहाँले यस्तो व्यवहार जापानको व्यावसायिक संस्कृतिअनुकूल नहुने पनि बताउनुभयो।
सरकारका अनुसार कर ७ प्रतिशत बिन्दुले घटाउँदा प्रत्येक नागरिकलाई वार्षिक औसत ३६ हजार येन राहत पुग्नेछ। तर यो अनुमानित हिसाब मात्र हो। कर कटौतीबाट वार्षिक ४.३ ट्रिलियन येन राजस्व घट्ने अनुमानलाई जनसंख्याले भाग गरेर यो रकम निकालिएको हो। करअघिको खाद्य मूल्य स्थिर रहने मान्यतामा आधारित भएकाले वास्तविक बचत यसभन्दा फरक हुन सक्छ।
आन्तरिक मामिला मन्त्रालयको तथ्यांकअनुसार ताजा खाद्यवस्तुको मूल्यमा हुने उतारचढावलाई हटाएर गणना गरिने राष्ट्रिय मुख्य उपभोक्ता मूल्य सूचकांक अक्टोबरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतभन्दा बढीले बढेको छ।
सेप्टेम्बरमा नौ महिनापछि पहिलोपटक उक्त स्तर पार गरेको मूल्यवृद्धि अक्टोबरमा पनि कायम रह्यो। कच्चा पदार्थ र आपूर्ति सामग्रीको लागत बढ्दै जाँदा खाद्यवस्तुको मूल्य निरन्तर उकालो लागेको छ।
तेइकोकु डाटाबैंकको सर्वेक्षणअनुसार अक्टोबरमा तीन हजारभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य बढाइएको थियो। कच्चा तेलको मूल्य उच्च रहेकाले इन्धन र उत्पादन सामग्रीको लागत अझ बढ्ने तथा त्यसले खुद्रा मूल्यमा थप दबाब पर्ने अनुमान गरिएको छ।
एबीसी इकोनोमिक रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री हिदेओ कुमानोका अनुसार मूल्यवृद्धि जारी रहेमा “कर कटौतीबाट प्राप्त हुने लाभ डेढ वर्षमै समाप्त हुन सक्छ।”
प्रधानमन्त्री ताकाइचीले कर दर घटाउँदा त्यसको प्रभाव सैद्धान्तिक रूपमा खुद्रा मूल्यमा पर्ने बताउनुभएको छ। तर, मूल्य वास्तवमा कसरी परिवर्तन हुन्छ भन्ने निश्चित रूपमा भन्न कठिन रहेको उहाँले स्वीकार गर्नुभएको छ।
जापर्मनीको अनुभव दोहोरिएला ?
जापानको संसद्मा उपभोग कर कटौतीको औचित्य पुष्टि गर्न जर्मनीको अस्थायी मूल्य अभिवृद्धि कर (भ्याट) कटौतीलाई उदाहरणका रूपमा प्रस्तुत गरिँदै आएको छ।
कोभिड–१९ महामारीका बेला सन् २०२० मा जर्मनीले सामान्य भ्याट दर १९ प्रतिशतबाट १६ प्रतिशत तथा खाद्यवस्तुमा लाग्ने घटाइएको दर ७ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो। यो व्यवस्था छ महिनाका लागि लागू गरिएको थियो।
तर जर्मनीको एक अनुसन्धान संस्थाले गरेको विश्लेषणअनुसार सुपरमार्केटमा वस्तुको मूल्य औसत १.३ प्रतिशत मात्र घटेको थियो। यसको अर्थ कर कटौतीको करिब ७० प्रतिशत मात्र उपभोक्ताले मूल्य घटेको रूपमा लाभ पाएका थिए।
यस्ता उदाहरण प्रस्तुत गर्दै जापानका विपक्षी दलहरूले प्रस्तावित कर कटौती प्रभावकारी हुनेमा प्रश्न उठाएका छन्। एक सांसदले राहतका लागि छुट्याइएको रकमको ठूलो हिस्सा उपभोक्तासम्म नपुग्न सक्ने चेतावनी दिएका छन्।
यद्यपि जापान र जर्मनीको आर्थिक तथा सामाजिक अवस्था फरक छ। जापानमा उपभोक्ताहरू मूल्यप्रति निकै संवेदनशील रहेको विदेशी धितोपत्र कम्पनीका एक अधिकारीले बताएका छन्।
सुपरमार्केट उद्योगसम्बद्ध संस्थाका एक पदाधिकारीका अनुसार कर कटौतीपछि खरिद लागत बढे पनि व्यवसायीलाई मूल्य बढाउन कठिन हुनेछ। त्यसैले कर कटौती लागू भएको सुरुवाती अवधिमा खुद्रा मूल्य घटाउन थप दबाब पर्ने देखिन्छ।
मूल्य अनुगमनमा सरकारलाई चुनौती
कर कटौतीपछि सरकारले मूल्य प्रवृत्तिको अनुगमन गर्ने र अवसरवादी मूल्यवृद्धि नियन्त्रण गर्ने बताएको छ। तर मूल्य बढ्नुको कारण कर कटौतीको लाभ नदिन खोजिएको हो वा खरिद तथा उत्पादन लागत बढेको हो भन्ने छुट्याउन सधैँ सहज हुँदैन।
यदि सरकारले आवश्यक मूल्यवृद्धि पनि रोक्न खोजेमा खुद्रा व्यवसायीको नाफामा दबाब पर्न सक्छ। त्यसैले मूल्य नियन्त्रण र व्यवसाय सञ्चालनको व्यवहारिकताबीच सन्तुलन कायम गर्नु सरकारका लागि चुनौती हुनेछ। प्रधानमन्त्री ताकाइचीले भने व्यवसायीलाई मूल्य घटाउन दबाब दिने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्नुभएको छ।
समाचार र तस्वीर- द जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्