राजनीति

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिङ्गो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन अभिप्रेरित गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्ने गरी आगामी कार्यक्रम अघि बढाइने उल्लेख गर्नुभयो । “एकीकरण मार्ग प्रशस्त अवसर र दृढ आकांक्षासहितको सम्बोधन गर्न सकिने विषय समाहित एक बहुआयामिक कार्यक्रम हो ।

राष्ट्रिय सम्पदा संरक्षण र प्रवद्र्धनमा एकजुट भई राष्ट्रिय एकताको भावना जागृत गराउने यो कार्यक्रम विभाजन र विखण्डन गर्न खोज्ने तत्वलाई परास्त पार्ने एउटा दरिलो माध्यम पनि हुनसक्छ”, उहाँले भन्नुभयो । एकीकरण मार्ग कार्यक्रमलाई दीर्घकालीन सोच राखेर विकास गर्न सकिएमा बृहत्तर राष्ट्रिय हितमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो जिम्मेवारीसँगै विकास निर्माण, प्राकृतिक प्रकोपको विपत्तिका बेला उद्धार र सहयोग तथा शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै एकीकरण मार्गको माध्यमबाट ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सेमीनारले एकीकरण मार्गको उपादेयता थप प्रष्ट पार्नुका साथै भविष्यका लागि स्पष्ट कार्यदिशा निर्धारण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकीकरण मार्गका संयोजक उपरथी सुवर्णबहादुर शाहले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उपयुक्त माध्यम एकीकरण मार्ग कार्यक्रम भएको र यो ऐतिहासिक पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्गबहादुर खत्रीले भावनात्मक एकता अभिवृद्धिका साथै पर्यटन प्रवद्र्धनमा एकीकरण मार्गको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

महासेनानी कृष्णप्रसाद भण्डारीले बृहत् सेमिनारले एकीकरण मार्गको आगामी कार्यक्रमलाई दिशाबोध गर्न फलदायी भएको बताउनुभयो । एकीकरणको दौरानमा प्रयोग गरिएका बाटो तथा लडाइँ लडेका गढी एवं किल्ला सबैलाई समेटी उक्त स्थानको व्यवस्थित ढङ्गबाट सम्वद्र्धन र जर्गेना गर्ने लक्ष्य रहेको छ । सङ्घीय सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा नेपाली सेनाले एकीकरण मार्गको अवधारणा अघि बढाएको हो ।

आधुनिक नेपालको एकीकरण अभियानसँग सम्बन्धित ऐतिहासिक सम्पदा र स्थललाई समेटेर ‘एकीकरण मार्ग’ निर्माण गरिने भएको छ । पुर्खाको गौरवपूर्ण इतिहासको महत्व दर्शाउने र सोमार्फत राष्ट्रिय एकताको भावना जागृत गर्ने एवं सर्वसाधारणलाई सम्मिलित गराई विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले पदमार्ग निर्माणको अवधारणा ल्याइएको सेनाले जनाएको छ । एकीकरण मार्गको आगामी फागुन अन्तिम साता काभ्रे जिल्लाबाट शुभारम्भ गरिनेछ । क्रमशः सातै प्रदेशका जिल्लामा एकीकरण मार्ग सञ्चालन गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.