कोरोना महामारीका बेला गलत विवरण दिएर रकम लिनेहरुसंग फिर्ता माग्दै न्यूयोर्क सरकार
कोरोना भाइरसको महामारीका बेला काम नपाएर बसेकाहरुलाई बेरोजगार बीमावापत गलत सूचना दिएर रकम ठगी भएको भन्दै न्युयोर्क राज्य सरकारले रकम फिर्ता माग्ने भएको छ ।

राज्य सरकारको डिपार्टमेन्ट अफ लेबरले महामारीमा बेरोजगारी बीमामा ४ सय २५ मिलियन डलर रकम बढी बाँडिएको भन्दै कतिपय व्यक्तिबाट रकम फिर्ता मागेको हो ।
न्युयोर्क राज्यमा बेरोजगारी बीमा रकम प्राप्तकर्ताहरूले आफूले पेश गरेको जानकारी साँचो ठानेको अवस्थामा पनि ठगीको लागि दोषी पाउन सकिने प्रावधान छ । अहिले बेरोजगारी विमावापत बाडेको रकम फिर्ता गर्नेमा अमेरिकामा न्युयोर्क राज्य अग्रस्थानमा देखिएको छ ।
न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले राज्य सरकारले सन् २०२० र २०२३ को बीचमा ४ सय २५ मिलियन बढी डलर भुक्तानी गरेको र तीमध्ये झन्डै दुई तिहाई धोखाधडी सम्बन्धित भएको जनाएको छ ।
धोखाधडी भएको पाइएमा रकम प्राप्तकर्ताहरू उक्त रकम फिर्ता गर्न बाध्य हुन्छन् । यदि कसैले जानी जानी गलत विवरण नदिएको भएमा राज्यहरूले निश्चित अतिभुक्तानीहरू फिर्ता गर्ने दायित्वलाई माफ पनि गर्न सक्छन् ।
बीमा रकम लिएकाहरुले पाँच सदस्यीय बेरोजगारी बीमा अपील बोर्डमा अपील पनि गर्न सक्छन् । तर बोर्डले प्राय आक्रामक रवैया अपनाउने गरेको जनाइएको छ ।
निर्वाचन निकट रहेकाले राष्ट्रपति जो बाइडेनको प्रशासनले भने राज्यहरूलाई महामारीमा गल्तीले गरिएका भुक्तानहरू माफ गर्न दवाव दिइरहेको छ ।
यसअघि म्यासाचुसेट्स र कनेक्टिकट जस्ता राज्यहरूले २०२० देखि २०२३ सम्मका क्रमशः २८ प्रतिशत र १९ प्रतिशत राज्य र संघीय मामिलाहरू माफ गरेका थिए । टेक्सासले पनि ३४ प्रतिशत माफ गरेको थियो ।
तर न्युयोर्कले भने जम्मा ३ प्रतिशत मात्र माफी गरेको छ । डिपार्टमेन्ट आफ लेबरले गल्तीको जिम्मेवारी डिपार्टमेन्ट आफैं रहेको अवस्थामा पनि सेवाग्राहीलाई नै ठगी गरेको आरोप लगाउने गरेको छ ।
महामारीका बेला बेराजगार बीमा फारम भरेर रकम लिनेहरुमा धेरै नेपाली पनि रहेका छन् । राज्य सरकार कठोर बनेमा धेरै नेपालीले रकम फिर्ता गर्नुपर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्