राजनीति

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारवाही गरिने

प्रचण्ड नेपाल समूहको नेकपाले सरकारको कदमबिरुद्ध गरेको बिरोध प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध अति तल्लो र आपत्तिजनक नारा लागेपछि यसको व्यापक बिरोध भैरहेको छ । त्यस्तो नारा लगाउनेहरुलाई कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

यसबीचमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

“आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ” ज्ञापन पत्रमा भनिएको छ । सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घको तर्फबाट नेत्रीहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मीला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो । टोलीले आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.