जन सरोकार

महाकाली नदी पुरेर तटबन्ध बनाउँदै भारत निर्माण नरोके खलंगाबासीको उठिबास हुने

नेपालको भूभाग डुबानमा पार्ने गरी भारतले एकतर्फी रुपमा महाकाली नदीमाथि तटबन्ध निर्माण गर्न सुरु गरेपछि दार्चुला सदरमुकाम खलंगाबासीमा त्रास उत्पन्न भएको छ । ७ वर्षअघि बाढीका कारण ठूलो क्षति भोगेका दार्चुलामा भारतले महाकाली नदी मिचेर जबरजस्ती पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले भारतलाई पत्र काटेको छ ।

सोही क्षेत्रमा नेपालले आफ्नो भूभागमा तटबन्ध गर्न खोज्दा भारतले आफ्नो भूमि डुबानमा पर्ने भन्दै बिरोध गरेको थियो । २०७० सालमा महाकालीको बाढीले खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो ।

सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो । भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।

स्मरणीय के छ भने भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति भएको थियो । अहिले भारतले नदी नै मिचेर तटबन्ध निर्माण गन लागेपछि खलंगावासी त्रसित बनेका छन् ।

भारतले नदी मिचेर तटबन्ध निर्माण सुरु गरेपछि दार्चुला जिल्ला प्रशासनले उक्त निर्माणकार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई गत पुस २ गते नै पत्राचार गरेको भए पनि पत्रको बेवास्ता गर्दै निर्माणकार्य निरन्तर चलिरहेको छ । नदीतर्फ ढुंगामाटो उखेल्दै डोजरहरू चलिरहँदा नेपानी पक्ष मूकदर्शक भएर बस्नुपरेको छ ।

यस विषयमा नेपाल सरकारलाई पनि जानकारी गराइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो हाम्रो पत्रको सुनुवाई नभएपछि परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं । गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताउनुभयो ।

महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले नेपालतर्फ पक्की संरचना बनाउँदा भारतले निर्माण रोकेको स्मरणा गर्दै भन्नुभयो, उसले चाहिँ कसरी एक्लौटी गर्न सक्छ ? नेपालको भूमि हामी एक इन्च छाड्दैनौं । आयोजनाका तर्फबाट हुने पहलका लागि आफू जतिबेला पनि तयार रहेको उहाँले बताउनुभयो ।

भारतले एकलौटी ढंगले महाकालीको जरैदेखि तटबन्ध निर्माण गर्दै जाने हो भने दार्चुलावासीको उठीबास हुने महाकाली नगरपालिका–५ का स्थानीय रघुबिरसिंह ठगुन्नाले बताउनुभयो ।

भारतीय पक्षले विगत वर्षहरुमा नेपालसँग समन्वय नगरीकनै विभिन्न ठाउँमा काठेपुल बनाउँदै आएको थियो । त्यतिमात्र हैन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार गरेर नियमित यातायातका साधनहरु निर्बाध रुपमा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.