किन जन्मिएनन् प्रत्येक युगमा वर्वरिक ?
कथा

भनिन्छ उहिले महाभारतको (कुरुक्षेत्रको) युद्धलाई अठ्ठार दिनसम्म नै हेर्न पाउने वरदान पाएका “वर्वरिक” उक्त युद्धमा कस्ले कस्ता षड्यन्त्र, छल, कपट र धोका दिएर कसरी अर्काे पक्षका योद्धाहरुलाई मारेका थिए भन्ने प्रत्यक्षदर्शी साक्षी थिए । जब महाभारतको युद्ध समाप्त भयो, विजयी बनेका पाण्डव पक्षका सबैले “आखिरमा मेरो वुद्धि, वल, साहस र रणकौशलताको कारणले मात्र त्यति ठूलो शक्तिशाली दुर्याेधन सैन्यवलमाथि विजय प्राप्तगर्न सकेको” भनेर विवाद गरे ।
यस्को फैसला गर्ने कस्ले ? विभिन्न तर्कहरु आए । सबै वीरहरुलाई चित्त बुझाउने को हुनसक्छ भन्ने छलफल हुँदा आखिरमा श्रीकृष्णले नै “महाभारतको युद्धमा सबैभन्दा महत्वपूर्ण भूमिका कस्को थियो, रह्यो भनेर भन्नसक्ने एकमात्र प्रत्यक्ष द्रष्टा साक्षी “वर्वरीक” नै हुन्, सबै (दुवै पक्ष) उनीकहाँ गएर सोध्नू” भनेछन् । त्यसरी “सबैभन्दा महान् योद्धा को हुन्” भनेर सोध्न गएका पाण्डव पक्षीयहरुलाई वर्वरिकले– “तिमीहरु त मात्र निमित्त पात्र थियौ, यथार्थ रुपमा (उक्त युद्धमा) आफूले कुनै शस्त्रास्त्र नउठाउने सार्वजनिक प्रतिवद्धता जनाएका उनै मायावी भगवान् श्रीकृष्णकै (मायामय) जादूगरी शैलीको खेलको मात्र जीत भएको हो” भनेर भनेका थिए रे ! उनले भनेका कुरालाई सबैले “ब्रह्म फैसला”को रुपमा निर्विवाद सहज स्वीकारेका थिए रे !
आजको सन्दर्भ
महाभारतको उक्त कथालाई अन्ध “भक्त” भएर भन्दा एउटा निष्पक्षताको, इमान्दारिताको, आफूले देखे, जानेको सत्य तथ्यलाई यत्किञ्चित् तल–माथि नपारी भनिदिने न्यायकर्ताको “आदर्श–प्रतीक” वा पर्यायको रुपमा लिनुपर्ने लाग्छ । संभवत त्यही र त्यस्तै कारणले हुनुपर्छ, हजारौं वर्ष पहिलेको र आजको चलन चल्ती र हेराई पढाईका हिसाबले “प्रागैतिहासिक एवं पौराणिक कालको” एउटा पात्रलाई सबैले जीवन्त पात्र वा साक्ष्यको रुपमा प्रस्तुत गर्ने गरेका होलान् । यो मेरो ठनाई हो । त्यसैले वर्वरिकको अस्तित्वबारे थप वहस वा चर्चा गर्नेतिर जाने जमर्काै नगरौं । यहाँको सन्दर्भ प्रसङ्ग त्यो होइन पनि । त्यतातिर गइयो, वहकिइयो भने “हिमाल आरोहणतिर लागेको मानिसले यति वा हिममानवको खोजी गर्नतिर लागे जस्तो” हुनेछ ।
जेहोस्, महाभारतको कुरुक्षेत्रका १८ दिने युद्धदेखि दोस्रो विश्व युद्ध समाप्त हुँदासम्म मात्र पनि हजारौं साना–ठूला युद्धहरु भए होलान् । युद्ध भूमिमा र त्यहाँ घाइते भएका समेत अर्वाै मान्छेको मृत्यु भयो होला । तर ती संसारभरका हजारौं युद्ध किन, कस्ले, के कस्का स्वार्थ पूरा गर्न गरे–गराएका थिए ? त्यस्ता प्रश्नको ओठे उत्तर जति सहज थियो, अन्तर्निहित (गुह्य) कारण भने त्यति नै आउन कठिन थियो । तर पनि साम्राज्यवाद, उपनिवेशवाद, कठमुल्लावाद, रंगभेद, जातिभेद आधारित दासता विरुद्धका बाहेकका युद्ध शासक र शासनसत्ताका विरोधीका सैन्य विरुद्ध नै भए–गरिएका थिए ।
अर्थात् बाह्य मुलुकबाट आई आक्रमण गर्ने (आक्रमणकारी) र आफ्नै सरहदभित्र जन्मे–हुर्केका एउटा वंशका अधिनायक, अत्याचारी, आततायीबाट हुँदै गएका वर्वर र जर्जर अमानवीय व्यवहारका शृङ्खला (फलामे साङ्लो) तोड्नका लागि धेरै युद्ध भए गरिएका देखिए भन्ने लाग्छ । जस्का केही दृष्टान्त स्पार्टाकसका दासहरुको विद्रोहदेखि मध्यपूर्वको शतवार्षिकी युद्ध, सलीव र हिलाल पक्षधरहरुबीचको युद्ध, अमेरिकी स्वतन्त्रता र गृहयुद्ध जस्तालाई लिन सकिन्छ । त्यसको मूल्य र त्यसबाट तत्तत् युद्धभूमिमा प्राण परित्याग गर्न पुगेकाहरुका आश्रितहरुले प्राप्त उपलब्धिको भने सायदै कतै कहिल्यै कसैले हिसाब किताब गरी नाफा नोक्सानीको अंक निकाल्यो होला ?
त्यसैले “महाभारत युद्ध”को उक्त प्रसङ्गको “महाभारत”लाई नेपालकै सन्दर्भसँग जोडेर हेरौं । बीसौं शताब्दीको दोस्रो दशक– अझ पहिलो विश्वयुद्धदेखि वृटिश साम्राज्यका अधीनस्थ र त्यसका विरुद्ध लडेका मुलूकहरुले नेपालीलाई “वीर गोर्खाली सैन्य जवान” भन्दै र मान्दै आएका हुन् । त्यो परिचय, पहिचान वा संवोधन, सम्मानबोधक वा परिचायक थियो ? “अथवा भाडाका लडाकाहरु जन्माउने मुलूक”को अर्थमा हेय शब्द प्रयुक्त गरिएको थियो ? त्यो पाटोमा कहिल्यै काहीँ, कसैले प्रश्न उठाएन । हामीले त्यहीँ “गोरा साहेव”का आँखाले आफूलाई हेर्दै आयौं । उनैले धाप लगाउँदै छातीमा वीरताको तक्का झुण्ड्याई दिएकोमा अन्धगौरव गर्दै आजसम्म पनि आफ्नो नेपाललाई “वीर गोर्खालीका सन्तानको देश” भनेर इतिहास लेखाउँदै, पढ्दै र पढाउँदै आयौं । सायद यो चर्चाले आफ्नो पूर्खाले स्थापित गरेको वीरता र राष्ट्रिय गौरव गाथाप्रति अनास्था, घृणा, विद्वेष जगाउन खोजेकोले पंक्तिकारलाई देशद्रोही, राष्ट्र विरोधीको फत्तूर लगाइन पनि सक्ला । कुनै “वीर” र “वहादुर”का सन्तानलाई त्यस्तो नलागोस् । लागे यसको अर्थ र आशय त्यस्तो “पूर्खाको गौरव गाथामा आँच पु¥याउने” किमार्थ होइन भन्ने स्पष्टीकरण दिन चाहन्छु ।
नेपालको प्रसङ्गमा
यहाँ उक्त सन्दर्भ र प्रसङ्ग यसकारण उठाउनु उचित र आवश्यक लाग्यो, किनकी नेपालको इतिहासका पाना पल्टाएर हेर्दा हाम्रा पूर्खादेखि पितामात्रले होइन । सात दशकको उमेरको नेटो ५–६ वर्ष पहिले नै काटिसकेको पुस्ताले पनि सधैं “शासन व्यवस्था र शासकहरुलाई “गोठको भकारो” सोहोरेर फालेपछि मुलुकको नयाँ शासन व्यवस्थाले हाम्रो जिउ–ज्यानको सुुरक्षा दिन्छ । ज्ञान आर्जन गर्न निःशुल्क शिक्षा सहितको सहज समृद्ध सम्मानित नागरिकको बचाईको अवसर दिन्छ, भन्ने सोचाईले पटक पटक तत्कालीन शासन र शासक विरुद्ध कहिले रक्तपातपूर्ण र कुनै बेला रक्तपात विहिन संघर्ष ग¥यौं । त्यसबाट अनेकन शासन व्यवस्था, सरकार र अधिशासकहरु पनि फालिए फेरिए । शासन प्रणालीका आवरण धेरै पटक फेरिए । “अत्यन्त प्रगतिशील क्रान्तिकारी, उन्नत लोकतान्त्रिक देखि जनतान्त्रिक गणतान्त्रिक”जस्ता सुने र जाने जति सबै शासन पद्धति प्रयोगमा ल्यायौं ।
त्यति मात्र होइन । “संघर्ष गरेको, जेल नेल भोगेको” भन्ने जतिलाई शासन सत्ता सुम्पियौं । सधैं क्रान्ति वा परिवर्तनलाई सुहाउँदो र संस्थागत गर्ने संविधान जारी गरियो । केही समयको प्रयोगपछि “समसामयिक सुधार गर्ने संशोधन गर्ने तिरभन्दा कसैलाई मनपरेन कि उस्कै “हुच्ची र हाहा”कै पछि दौडिँदै संविधान च्यात्ने, पोल्ने र फाल्नेमा पटक्कै धक मानेनौं । पुराना शासन, शासक र संविधान फेर्दै गयौं । नयाँ शासन र शासकको सोच, शासनसत्ता, नियन्ता बनेपछिको नीति, नियत, स्वार्थ, शैली, नहेरी उसको पाद पूजन, जयगान र देवत्वकरण गर्ने होड मच्चियो ।
“महानायक, जननायक, महान् क्रान्तिनायक” आदि जस्ता सुने–जानेका सबै सुन्दर र गुणानुवर्णनका विविध विरुद्धावलीले “नवशासक”लाई अलंकृत गर्ने हतारो र हुटहुटी गर्न थाल्यौ. । “परिवर्तनका लागि समर्पित र संघर्ष गर्न मानै “जीवनको उर्जावान् समय खर्चेको” गुड्डी हाँक्दै आएका टाठा बाठाहरुलाई पालैपालो नयाँ नयाँ प्रभु, मालीक, शासक मान्न थाल्यौ । त्यसो गर्दा हामी आफैं उनैका दास र दासानुदास वन्दै गएको भने पत्तै पाएनौं । शुरवीर, वहादुर गोर्खालीका सन्तान मान्नु भन्नुमा गौरव महसुस गर्दै आयौं– वुद्धि, विवेकको प्रयोग गरेनौं । “लड्नु भिड्नु नै आफ्नो जातीय र राष्ट्रिय पहिचान हो” भन्ने बाहेक वुद्धि–विवेक, धैर्यता, संयमताको प्रयोगलाई भगुवा र कायरता प्रदर्शनको रुपमा लिइयो ।
त्यही “ऐतिहासिक विरासतको थोत्रो थाङ्नो” ओडेर हुर्काइए, बढाइए र पढाइएकाले “हामीले कैयन् युद्ध जित्दै र आफ्नै देशका अनेकौ शासन पद्धति, सरकार र शासकको पुस्ता फालिसकेपछि संसारमा अवतरित (जन्मेको) नयाँ पुस्ताले ज्ञान, विज्ञान र राष्ट्रिय आय उपार्जनको विश्व कीर्तिमान कायम गर्ने होडमा दौडिरहँदा, हामी भने आफ्ना सन्तानलाई भरिसक्ये बेलायती (गोर्खा) सैनिकमा नभए पनि भारतीय सेनामा भर्ती हुन सकून” भन्ने आर्शीवाद दिइरहेका थापिरहेका छौं ।
त्यति मात्र होइन । आफ्ना सबैतिरबाट अस्वीकृत, अपठित र निषेधित सन्तान सानैदेखि लड्ने भिड्ने (गुण्डागर्दी गर्दै डन र टोलिया हूलिया सरदार “वन्दै गयो भने “ठूलो राजनीतिक खेलाडी हुने सम्भावना बोकेको देखेर दङ्गदास हुने भयौं । अहिले त्यस्तै वग्रेल्ली भुइफुट्दा, टोलिया गाउँले छुट् भैय्येहरुको लागि सात प्रदेश र सातसय त्रिपन्न ठाउँमा जुन नयाँ सिंहदरवार स्थापित भएको छ । त्यसैलाई नै आजसम्मको ठूलो उपलब्धि ठान्यौं । ती “गाउँ गाउँमा” पुगेका सिंहदरवारमा बसेर बिना योग्यता मसलको बलमा रजाई गर्ने ३५,०००।– (पैंतीस हजार) प्रत्यक्ष र उनका फेरो समाएर २–३ लाखको लागि जुन अवसर सिर्जना गरियो, त्यही आड, बल र आधारमा “आफू शासन सत्ता नियन्ता एवं आफ्नो पार्टीको निर्विकल्प नेता बन्ने” धुन सबै दलका अगुवाहरुमा सवार भयो । त्यसैले ठूला साना सबै दलका नेता कार्यकर्ता यत्रतत्र “प्राप्त उपलब्धि गुम्ने खतरा घनिभूत र प्रवल रुपमा देखापरेको” “स्याल हुइय्याँ मच्चाउँदै गरेका होलान् भन्ने” धेरैको अनुमान रहेछ ।
तर जस्का पुर्खाहरुदेखि आजको पुस्तासम्मले संघर्ष, आन्दोलन, विद्रोहमा सधैं छाती थाप्दै टाउकोमा कात्रो बाँधेर समरदेखि सडकसम्म निरन्तर सहभागी हुँदै आए । त्यस्ता पचासौं लाख भुईमान्छेका “लप्पन–छप्पन” गर्न नजान्ने, कुनै दल र नेताका कृपादृष्टि नपरेका, शक्तिशालीका घरदैलोमा माथा टेकेर भक्तिगान गर्न नसक्ने”लाई न्याय दिने, भाग्य, भविष्य निर्माणको जिम्मा लिने को ? जस्को आटो खाने पाटोसम्म बाँकी होला, उसलाई त वग्रेल्ती जाली ठग म्यानपावरको जालबाट उम्किँदै वैदेशिक रोजगारीमा गएर बाँच्ने अन्तिम विकल्प बाँकी होला ? तर त्यति ह्याउ, हैसियत वा सावगास नभएकाहरुका लागि आजसम्मको परिवर्तनले के दियो ? यस्को फिराद लिएर उनीहरु जाने कहाँ ? सुन्ने दायित्व वा कर्तव्य कस्को ? सायद अहिलेको नेपालमा पनि कुनै वर्वरिकको सन्तान जान्मिदिएको भए त्यस्ता निरीह र निमुखा भुईमान्छेले पनि न्याय निशाफको यात्किञ्चित अनुभूति गर्न पाउँथे कि ? विडम्वना भनौं या दुर्भाग्य ! वर्वरिक प्रत्येक युगमा जन्मिएनन् ।
प्रतिक्रिया राख्नुहोस्