नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ- भ्रमण वर्षलाई सघाउने जापानी मन्त्रीको प्रतिबद्धता (फोटोहरुसहित)
नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ । भ्रमण वर्षको सफलताको कामना गर्दै ब्राह्मणहरुको स्वस्तिवाचन सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षका लागि तयार पारिएको लोगोसहितको ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि आफ्नो मन्तव्य राख्ने राजदूत राणाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं भाषिक विविधताको देश भएको उल्लेख गर्दै जापानी नागरिकहरुलाई नेपालका विश्व सम्पदा क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिकी जस्ता क्षेत्रहरुको भ्रमण गरी चीरस्मरणीय अनुभव सँगाल्न अनुरोध गर्नुभयो ।
उहाँले नेपालमा स्थिर र बहुमतको सरकार भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न विभिन्न कार्यक्रमहरु भैरहेको जानकारी गराउँदै यसैका लागि १ जनवरी २०२० का दिन काठमाडौंमा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा जापानको परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री नोरिहिरो नाकायामाले नेपाल भ्रमण वर्षको सफलताको कामना गर्दै जापान सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालमा रहेका जापान कम्पनीहरुमध्ये धेरैजसो पर्यटन क्षेत्रसंग सम्बन्धित रहेको उल्लेख गनुृहुँदै निजी क्षेत्रलाइए पनि भ्रमण वर्ष सफल पार्न प्रोत्साहन गरिने बताउनुभयो । त्यस क्रममा उहाँले आफू चाँडै नेपाल भ्रमणमा जान लागेको जानकारी दिनुहुँदै बढीभन्दा बढी जापानीलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने पनि बताउनुभयो ।
नेपाली लोक नृत्यहरुका साथ सुरु भएको कार्यक्रममा नेपाल भ्रमण वर्ष सम्बन्धी भिडियोसहितको प्रस्तुति गरिनुका साथै नेशनल जियोग्राफीका फोटोग्राफर युमिको इताकाले नेपालका चराचुरुंगी तथा वनस्पतिका चित्रहरु समेटिएका फोटोहरुको पूदर्शनी गर्नुभएको थियो ।
उदघाटन कार्यक्रममा जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्व राजदूतहरु, एनआरएनए जापानका पदाधिकारीहरु, नेपाली दूताबासका पदाधिकारी लगायत ठूलो संख्यामा जापानी तथा नपालीहरुको उपस्थिति रहेको थियो ।