जापान

अमेरिका-इरान तनाव न्युनिकरणका लागि प्रधानमन्त्री आबे मध्यपूर्व जाने

अमेरिका र इरानबीच उत्पन्न तनाव न्यूनिकरणका लागि जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्नुहुने भएको हो ।

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले आबे यही जनवरी १२ देखि जनवरी १५सम्म मध्यपूर्वको भ्रमणमा जाने बताएका हुन् । पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिनुभएको बताइएको छ । मध्यपूर्वमा सृजना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताउनु भएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।” वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।
शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.