न्यूयोर्कका विद्यार्थीहरूलाई परमाणु हतियारको विपक्षमा उभिन वमबाट बचेका जापानीहरुको आग्रह
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानका खसालेको परमाणु बमका पीडितहरूको एक समूहका सदस्यहरूले संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयका विद्यार्थीहरूसँग छलफल गरी परमाणु हतियारहरूको उन्मूलनका लागि आह्वान गरेका छन्।
“निहोन हिदान्क्यो” (जापान ए–र एच–बम पीडित संगठनहरूको महासंघ) का सदस्यहरूले मंगलबार न्यूयोर्कको एक विश्वविद्यालय भ्रमण गरेका थिए। उक्त समूह संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजना भइरहेको परमाणु हतियार नफैलावट सन्धिका पक्षधरहरूको समीक्षा सम्मेलनमा सहभागी भइरहेको छ।
छलफलमा सहभागीमध्ये एक माट्सुओरा हिदेतो हिरोशिमामा परमाणु बम खसालिँदा आफ्नी आमाको गर्भमा हुनुहुन्थ्यो। अर्की सहभागी सुगिनो नोबुको एक वर्षको उमेरमा बम विस्फोटको अनुभव गर्नुभएको थियो । उहाँहरूले आफ्ना अनुभवहरू विद्यार्थीहरूलाई सुनाएर उनीहरूसँग विचार आदानप्रदान गर्नुभएको थियो।
“के तपाईंहरू अमेरिकनहरूलाई घृणा गर्नुहुन्छ ?” भन्ने प्रश्नमा सुगिनोले बम विस्फोटमा आफ्ना दुई सन्तान गुमाएकी आफ्नी आमाको कुरा उल्लेख गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “मेरो आमाले अमेरिकाप्रति घृणा गर्छु भन्नुभएन, बरु युद्धलाई घृणा गर्छु भन्नुभयो।” माट्सुओराले भन्नुभयो, “प्रतिशोधको चक्र राम्रो हुँदैन। पल्टवारले द्वन्द्व र युद्धलाई अझ बढाउँछ।”
समूहका महासचिव हमासुमी जिरोलाई अमेरिकी सरकारसँग क्षतिपूर्ति माग्नुपर्ने हो कि भनेर सोधिएको थियो। उहाँले भन्नुभयो, “सबैभन्दा पहिले म माफी चाहन्छु। यसको सच्चाइ देखाउनका लागि म परमाणु हतियारहरू पूर्ण रूपमा हटाइयोस् भन्ने चाहन्छु।”
अमेरिकी सेनामा पनि आबद्ध एक विद्यार्थीले जब उहाँ जापानको दक्षिणपश्चिमी भाग ओकिनावामा रहेको अमेरिकी आधारमा हुनुहुन्थ्यो, उहाँले हिरोशिमा भ्रमण गरेर त्यहाँका मानिसहरूमा आक्रमणले पारेको प्रभाव देख्नुभयको थियो।
उहाँले भन्नुभयो, “परमाणु हतियारहरू सधैं अन्तिम विकल्पको रूपमा मात्र रहनुपर्छ- अन्तिम विकल्पभन्दा पनि पर- र केवल अस्तित्वमा छन् भन्ने थाहा हुने गरी लुकाइएर राखिनुपर्छ, तर कहिल्यै प्रयोग गरिनु हुँदैन।”
(एनएचकेबाट साभार)





प्रतिक्रिया राख्नुहोस्