राष्ट्रिय एकता दिवसको जुलुशमा प्रहरीको धरपकड

नेपाल एकीकरण नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सोमबार निकालिएको जुलुशमा प्रहरीले अबरोध गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीले धरपकड गरेको हो । जुलुशमा सहभागी र प्रहरीबीच धकेलाधकेल भएको छ । केही समय धकेलाधकेल भएपछि जुलुसमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै अगाडि बढेको थियो ।
बाजागाजासहित र्यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो ।
त्यस्तै २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा निकालिएको र्यालीमा पनि पनि प्रहरीले बल प्रयोग गरेको भए पनि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि सहभागीहरू त्यहाँ पुगेका छन् ।
बलिउड अभिनेत्री मनीषा कोइराला, रमेश खरेललगायत उपस्थित र्यालीमा प्रहरीले धरपकड गरेपछि र्यालीमा सहभागीले प्रहरीविरूद्ध नाराबाजी गरेका छन् । प्रहरीले उक्त क्षेत्रमा जान रोक्न खोजे पनि सहभागीहरू अघि बढेका छन् ।
सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्