जन सरोकार

बालकुमारीको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा सोमबार भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिसकेको छाैँ ।”

ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य राजकाजी महर्जनले कल ट्रेसिङ लगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरेर जसरी भए पनि मूर्ति खोज्नुनैपर्छ ।” वडाध्यक्ष बाबुराजा महर्जनले सो मूर्ति हराउँदा सुनाकोठीवासीको मुटु छियाछिया भइरहेको गुनासो गर्दै खोजीका लागि सहयोग गर्न आफू तत्पर रहेको सुनाउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्रसमेत परिचालन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा संयन्त्रयसमा संवेदनशी भएर लागेको हुँदा यहाँका स्थानीयवासीका साथै प्रदेश सरकारले पनि धार्मिक तथा ऐतिहासिक अनि सांस्कृतिक धरोहर आसपास क्षेत्रमा सिसिटिभी आदि जडान गरेर थप सुरक्षा बढाउनुपर्ने देखिएको छ ।”

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफ्नो तर्फबाट मूर्ति खोजीका लागि सबै सहयोग गर्न तयार भएको सुनाउँदै बालकुमारी माईलाई छिटो भन्दाछिटो उहाँको निवासमा फर्काउन अनुसन्धानलाई हरेक तवरबाट द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । प्रशासन कार्यालयमा भएको उक्त छलफलमा मन्दिरका गुठियारका साथै सुनाकोठीवासीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.