हास्य कलाकार ‘चतुरे’खेम शर्माको अमेरिकामा निधन
नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल चर्चित हास्य कलाकार खेम शर्माको निधन भएको छ।
अमेरिकामा बसोबास गर्दैआउनुभएका शर्माको अमेरिकी समयअनुसार शुक्रबार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्र्याङ्कलिन स्क्वायरको मेडस्टार अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
अस्पताल पुगेका कलाकार तथा मोडल मनीष शर्माका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार उहाँलाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि फ्र्याङ्कलिन अस्पतालमा रिफर गरिएको थियो, जहाँ उपचारकै क्रममा उहाँको निधन भएको हो।
शर्मासँग विभिन्न टेलिशृङ्खलामा सहकार्य गर्नुभएका कलाकार शिवहरि पौड्यालले पनि उहाँको निधनको पुष्टि गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत असल साथी गुमाएको उल्लेख गर्नुभएको छ।
नेपाली हास्य अभिनयका क्षेत्रमा लोकप्रिय खेम शर्मा लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आउनुभएको थियो। रंगमञ्चबाट अभिनय यात्रा सुरु गर्नुभएका उहाँ टेलिभिजन, टेलिफिल्म र चलचित्रमा उत्तिकै सक्रिय रहनुभएको थियो।
विशेष गरी हास्य टेलिशृङ्खला ‘चतुरेको दाउपेच’ मार्फत उहाँ घरघरमा परिचित बन्नुभएको थियो। उहाँले थुप्रै चलचित्र, टेलिफिल्म तथा टेलिशृङ्खलामा अभिनय गरी नेपाली मनोरञ्जन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्