राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका गृहमन्त्री सुधन गुरुङले खान लाग्नुभएको अम्लेटमा माछाको काँडा भेटिएपछि प्रहरीले होटलका दुईजना कुकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मङ्गलबार बिहान भरतपुर विमानस्थलअगाडि रहेको एक होटलमा गृहमन्त्री गुरुङले नास्ता गर्ने क्रममा अण्डाको अम्लेटमा माछाको काँडा भेटिएको थियो। घटनापछि सुरक्षाकर्मीले तत्काल होटलका दुई जना कुकलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेका हुन्।
प्रारम्भिक अनुसन्धानमा उक्त काँडा जानाजान राखिएको वा खाना तयार गर्ने क्रममा प्रयोग गरिएका भाँडाकुँडाको कारण संयोगवश परेको भन्ने विषय खुलिनसकेको प्रहरीले जनाएको छ।
घटनाबारे खाद्य सामग्री तयारी प्रक्रिया, प्रयोग भएका भाँडाकुँडा तथा होटलका कर्मचारीसँग सोधपुछ भइरहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) रामेश्वर पौडेलले घटनाको यथार्थ बुझ्नका लागि दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको पुष्टि गर्नुभयो।
उहाँले भन्नुभयो, “गृहमन्त्रीज्यूले खान लाग्नुभएको अम्लेटमा माछाको काँडा भेटिएपछि घटनाको प्रकृति बुझ्न आवश्यक देखियो। यसैक्रममा होटलका दुई जना कर्मचारीलाई सोधपुछका लागि ल्याइएको छ। अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिनेछ।”
घटनापछि गृहमन्त्रीको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको स्रोतले जनाएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ।




प्रतिक्रिया राख्नुहोस्