रास्वपा महाधिवेशनमा देखिएको पुराना दलहरूको मनोविज्ञान
स्थापनाको चार वर्ष नपुग्दै दुईतिहाइ बहुमतको सरकार बनाउने हैसियतमा पुगेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सफलता लोभलाग्दो छ।
सात दशकदेखि विचार, नीति र सिद्धान्तका आधारमा मुलुकमा सक्रिय रहेका राजनीतिक दलहरूको किल्ला भत्काउँदै नयाँ दलले हासिल गरेको यो उपलब्धि धेरैका लागि अझै पनि पचाउन नसकिने विषय बनेको छ।
यही पार्टी अर्थात् रास्वपाको प्रथम महाधिवेशन यतिबेला चितवनको भरतपुरमा जारी छ। असार ७ गते आइतबार सम्पन्न उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूका अभिव्यक्ति सुन्दा नेपालको समग्र राजनीतिक मनोविज्ञान उजागर गर्ने अवसरसमेत प्रदान गर्यो।
महाधिवेशनमा विभिन्न दलका नेताहरूले व्यक्त गरेका धारणाहरूले उनीहरूको मनोदशा, विगतप्रतिको आत्मसमीक्षा, भविष्यको राजनीतिक रणनीति तथा रास्वपाप्रतिको दृष्टिकोणलाई स्पष्ट रूपमा उजागर गरेका छन्। महाधिवेशनमा विभिन्न दलका नेताहरूको उपस्थिति सामान्य औपचारिकता मात्र नभई गम्भीर राजनीतिक सन्देश पनि हो।
यस अर्थमा उनीहरूमा केही हदसम्म हिनताबोध देखिएको भन्न सकिन्छ। दशकौँसम्म शासन गर्दा जनतामा उत्पन्न भएको वितृष्णा र त्यसकै परिणामस्वरूप नयाँ शक्तिको उदय भएको तथ्यलाई उनीहरूले अब नकार्न सक्ने अवस्था छैन।
तर हिनताबोध हुनु र विगतका गल्तीहरूलाई पूर्ण रूपमा स्वीकार गर्नु फरक कुरा हो। अधिकांश नेताहरूका भनाइमा आत्मालोचनाभन्दा पनि रास्वपालाई सुझाव दिने प्रवृत्ति बढी देखियो।
विगतका कमजोरी, भ्रष्टाचार, गुटबन्दी र जनअपेक्षाको उपेक्षाले नयाँ शक्तिको जन्म गराएको यथार्थलाई स्पष्ट रूपमा स्वीकार गर्ने साहस अझै पुराना दलहरूमा पूर्ण रूपमा देखिएको छैन।
आइतबार विहानसम्म चितवन नजाने मनस्थितिमा रहनुभएका नेपाली कांग्रेसका सभापति गगन थापाको अकस्मात् महाधिवेशनमा उपस्थितिलाई विशेष महत्व र अर्थका रुपमा व्याख्या गर्न थालिएको छ ।
केही वर्षअघि संसद्मा ‘प्रमाण छ’ भन्दै खाली कागज प्रदर्शन गरेर चर्चामा आउनुभएका थापाले विगतमा रवि लामिछानेलाई आफ्नो प्रमुख प्रतिस्पर्धीका रूपमा हेर्ने गर्नुभएको राजनीतिक वृत्तमा चर्चा थियो। आज परिस्थिति उल्टिएको छ।
रवि लामिछाने देशकै सबैभन्दा ठूलो दलका सभापति हुनुहुन्छ भने गगन थापा सापेक्ष रूपमा सानो दलका नेता बन्नुभएको छ। यस्तो अवस्थामा थापाको उपस्थिति रास्वपासँग राजनीतिक सम्बन्ध सुधार गर्ने, संवादको ढोका खुला राख्ने रणनीतिक प्रयासका रूपमा पनि व्याख्या गर्न सकिन्छ।
महाधिवेशनमा उहाँले दिनुभएको अभिव्यक्तिमा विगतको पश्चाताप, वर्तमानको स्वीकारोक्ति र भविष्यको सम्भावित सहकार्यका रुपमाा पनि हेरिएको छ ।
तत्कालीन अवस्थामा देशको दोस्रो ठूलो दल रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ‘गाडीको ब्रेक लगाउनुपर्छ’ भन्नुभएको अभिव्यक्ति अझ रोचक छ। यसले रास्वपाको तीव्र उभारलाई लिएर एमालेभित्र रहेको चिन्ता प्रतिबिम्बित गर्छ।
राजनीतिमा तीव्र गतिले अघि बढ्ने दलले संयमता अपनाउनुपर्छ भन्ने सन्देश दिन खोजिए पनि यसको अर्को अर्थ रास्वपाको बढ्दो प्रभावलाई नियन्त्रणमा राख्ने मनोविज्ञान पनि हुन सक्छ। पुराना दलहरू नयाँ शक्तिको तीव्र विस्तारप्रति सहज देखिएका छैनन् भन्ने संकेत यसबाट प्राप्त हुन्छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘यो सरकार ३० वर्ष चल्नुपर्छ’ भन्नुभएको अभिव्यक्तिको अर्थ भने केवल सत्ताको निरन्तरता होइन। उहाँले राजनीतिक स्थायित्व, नीति निरन्तरता र दीर्घकालीन सुधारको आवश्यकतामा जोड दिन खोज्नुभएको देखिन्छ।
तर नेपाली राजनीतिमा ३० वर्ष शासनको अभिव्यक्तिलाई कतिपयले सत्ता लम्ब्याउने चाहनाका रूपमा पनि व्याख्या गर्न सक्छन्। त्यसैले यसलाई लोकतान्त्रिक प्रतिस्पर्धाभन्दा स्थायित्वको पक्षमा गरिएको टिप्पणीका रूपमा बुझ्नु उपयुक्त हुन्छ।
जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका सुझावहरू भने विशेष अर्थपूर्ण देखिन्छन्। राउतले प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रशंसा गर्दै उहाँलाई ‘डाइनामिक’ र ‘विश्वले चिन्ने नेता’ भन्नुभएको थियो।
राउतको सन्देशको मर्म सत्ता परिवर्तनभन्दा पनि राजनीतिक संस्कार परिवर्तन आवश्यक छ भन्ने थियो। पुराना राजनीतिक शैलीबाट अलग भएर काम गर्दा जनताले साथ दिन्छन् भन्ने सन्देश उहाँले दिन खोज्नुभएको देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सन्देश पनि उत्तिकै गहिरो थियो। उहाँले सत्तामा पुगेपछि आदर्शबाट विचलित हुने नेपाली राजनीतिक संस्कृतिप्रति संकेत गर्दै नयाँ दल पुरानाजस्तै रोगबाट ग्रस्त हुन नहुने चेतावनी दिनुभयो।
महाधिवेशनमा सभापति रवि लामिछानेले पार्टी एकतामा दिनुभएको जोड अत्यन्त सान्दर्भिक छ। नेपालको राजनीतिक इतिहास हेर्दा गुटबन्दीका कारण ठूला–ठूला दलहरू कमजोर बनेका छन्। वास्तवमा जनताले रास्वपालाई पुराना दलको विकल्पका रूपमा हेरेका छन्। त्यसैले पुरानाकै गल्ती दोहोरिए जनताको निराशा झन् गहिरिनेछ।
रास्वपाले अहिले जनविश्वास जितेको भए पनि आन्तरिक विभाजन उत्पन्न भए त्यो विश्वास टिकाउन कठिन हुनेछ। सम्भवतः रविले आफ्नै पार्टीभित्र देखा पर्न सक्ने सम्भावित ध्रुवीकरणलाई समयमै रोक्न खोज्नुभएको हो।
प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले ‘नेता बन्न समूहको होइन, जनताको साथ चाहिन्छ’ भन्नुभएको अभिव्यक्ति नेपाली राजनीतिमाथिको गम्भीर टिप्पणी हो।
परम्परागत दलहरूमा गुट, समूह, शक्ति केन्द्र र नेताको वरिपरि घुम्ने संस्कृतिको आलोचना गर्दै उहाँले जनआधारित नेतृत्वको अवधारणालाई स्थापित गर्न खोज्नुभएको छ। बालेन स्वयं परम्परागत राजनीतिक संरचनाबाहिरबाट उदाउनुभएका नेता भएकाले उहाँको सन्देश अझ प्रभावकारी देखिन्छ।
यही सन्देशसँग अर्को महत्वपूर्ण पक्ष जोडिएको छ, रास्वपाभित्र गुट सिर्जना भए आफूहरूलाई फाइदा हुने अपेक्षामा बसेका पुराना दलहरूको मनोविज्ञान। नेपाली राजनीतिमा नयाँ दलहरूको विघटन, फुट र आन्तरिक द्वन्द्वबाट लाभ उठाउने पुरानो अभ्यास रहँदै आएको छ।
रास्वपाभित्र पनि गुटबन्दी, नेतृत्व संघर्ष वा व्यक्तिगत महत्वाकांक्षा बढे त्यसको सबैभन्दा ठूलो लाभ पुराना दलहरूले उठाउनेछन्। त्यसैले कतिपय पुराना शक्तिहरू रास्वपाको आन्तरिक एकतालाई चासोपूर्वक हेरिरहेका मात्र छैनन्, केही त यसको कमजोरीको प्रतीक्षामा समेत रहेको विश्लेषकहरूको बुझाइ छ।

रास्वपाभित्र केन्द्रीय नेतृत्वका आकांक्षीहरूको संख्या ठूलो छ। यसमा विजयीले पराजितलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार तथा पराजितहरूले परिणामलाई सहज रूपमा स्वीकार गर्नुहुन्छ कि आरोप–प्रत्यारोपको बाढी चलाउनुहुन्छ, यो भने हेर्न बाँकी छ।
उद्घाटन सत्रले रास्वपालाई नेपाली राजनीतिको स्थापित शक्ति बनाइसकेको पुष्टि गरेको छ। तर अब पार्टीका लागि चुनौती लोकप्रियतालाई संस्थागत क्षमता, विचार र सुशासनमा रूपान्तरण गर्नु हुनेछ। महाधिवेशनले रास्वपाको भविष्य निर्धारण गर्नेभन्दा पनि अब उसको वास्तविक परीक्षा सुरु भएको सन्देश दिएको छ।
राजनीतिक विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भनेजस्तै, ठानेजस्तै तथा कतिपय पुराना नेताहरूले चाहेजस्तै रास्वपाभित्र केन्द्रीय नेतृत्वका आकांक्षीहरूको संख्या ठूलो छ। यसमा विजयीले पराजितलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार तथा पराजितहरूले परिणामलाई सहज रूपमा स्वीकार गर्छन् कि आरोप–प्रत्यारोपको बाढी चलाउँछन् त्यो भने हेर्न बाँकी छ।
समग्रमा, रास्वपाको प्रथम महाधिवेशनले एउटा स्पष्ट सन्देश दिएको छ, नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको छ। पुराना दलहरू अब आत्मसमीक्षाबाट भाग्न सक्ने अवस्थामा छैनन् ।
त्यस्तै नयाँ शक्तिहरूले पनि जनअपेक्षाअनुसार आफूलाई अनुशासित, एकताबद्ध तथा उत्तरदायी बनाएर मात्र दीर्घकालीन राजनीतिक सफलता हासिल गर्न सक्नेछन् र असार ९ गते रास्वपा अझ परिपक्व भएर बाहिरिने आम अपेक्षा छ।




प्रतिक्रिया राख्नुहोस्