राजनीति

ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा बिहीबारदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–विराट–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको उद्घाटन गर्दै उहाँले नेपाल पूर्ववत्रूपमा शान्त, सुव्यवस्थित हुनुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डे

उहाँले भन्नुभयो, “यो भूमि पूर्ववत्रूपमा एउटा शान्त, सुव्यवस्थित होस् र दानवहरूको नगरा, पञ्जाबाट मुक्त होस् भन्ने मैले भगवान्सँग पुकार गर्छु ।” यो महायज्ञ हिन्दू धर्मावलम्बीहरूको मात्रै नभएर देशैभरका सबै धर्म मान्नेहरूका लागि भएको उहाँको भनाइ थियो । विश्व शान्ति र मानव जातिको रक्षाका लागि यस्ता महायज्ञहरू हुन जरुरी रहेको उहाँले बताउनुभयो । यहाँ आएर सबै धर्मावलम्बीले पुण्य लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । महायज्ञका लागि सबैले सहयोग गर्न उहाँले अपिलसमेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशवराज महर्जन, समाजसेवी टङ्कनाथ पौडेल, स्वामी जगन्नाथ शर्मा कँडेल, पूर्वसांसद गोविन्द कँडेल, समाजसेवी उमाशङ्कर अग्रवाल, प्रमुख वाचक परशुराम पाण्डेलगायतले बोल्नुभएको थियो ।

महायज्ञ आयोजक समितिका संयोजक प्रेमनिधि भारद्वाजले महायज्ञ सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च हुने बताउनुभयो । एक महिनासम्म चल्ने सो महायज्ञको अन्तिम दिन फागुन १२ गते रु एक करोड ४९ लाख ८५ हजार बत्ती बालिने उहाँले जानकारी दिनुभयो ।

महायज्ञमा दैनिक छ क्विन्टलभन्दा बढी चरु हवन हुने छ । जौँ, तिल, चामल, घ्यूलगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरिनाथले शरीर छाडेपछि पहिलोपटक ब्रह्मगायत्री मन्त्रद्वारा महायज्ञमा हवन हुन लागेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा कोटिहोम महायज्ञका अध्येता, सङ्कल्पकर्ता, गुरु योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम ज्ञानमहायज्ञ गरिएको हो । महायज्ञमा एक सय आठ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्रीमन्त्रद्वारा एक महिनासम्म हवन गरिने छ । तर्पण एवं मार्जन, श्रीमद्भागवत तथा शिव महापुराण पाठ एवं प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवं राजनीतिक व्यक्ति सहभागी हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.