राजनीति

जनप्रतिनिधिहरूले गफ होइन काम गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा शनिबार वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उहाँले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताउनुभयो ।

“जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ”, उहाँले भन्नुभयो, “यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले विश्वास गर्नुहुन्छ, नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ ।” स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने बताउनुभयो ।

निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । “यहाँका जनताले नेपाली कांग्रेस तथा मलाई विश्वास गरेर जिम्मेवारी बोकाइ दिनुभएको छ”, उहाँले भन्नुभयो, “जनताको अमूल्य मतबाट प्राप्त जिम्मेवारीलाई पूरा गरेरै छाड्छु, विश्वस्त हुनुहोस् बीचमै छाड्दिन ।”

कामभन्दा बढी भाषण गर्ने र गफ मात्रै लगाउने प्रवृत्तिका कारण नेताहरूप्रति जनताको विश्वासनीयता गुम्दै गइरहेको छ । धन्यवाद ज्ञापन गर्नेक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, कल्पना तिवारीले निर्वाचनका बेला आफूहरूले अगाडि सारेको घोषणापत्रको पूर्ण कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । विजयी हुनुभएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कार्यतालिका नै बनाएर मतदातालाई धन्यवाद ज्ञापनका घरदैलो तथा टोलटोलमा पुग्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.