समाचार

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत मंगलबार भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रङ्शाशालामा भएको उक्त खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सवै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् । उनले ३६ बल खेल्ने क्रममा एक छक्का र पाँच चौका प्रहार गरिन् ।

बलिङतर्फ आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन मा खर्चिन । यसैगरी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिइन् ।

आर्मीले ६६ रन १३ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा बनायो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलको सामना गर्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीकी यमुना थारु घोषित भइन् । प्रतियोगिताअन्तरगत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल सञ्चाल भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।

मिडिया सेन्टर उद्घाटन

यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को सञ्चालन कार्यलाई व्यस्थित र प्रभावकारी बनाउन मिडिया सेन्टर स्थापना गरिएको छ ।

कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर परिसरभित्र स्थापना गरिएको उक्त सेन्टरको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले उद्घाटन गरे ।

उद्घाटन गर्दै सचिव पौडेलले प्रतियोगिता अवधिभर हुने ३२ विधाका खेलको अडियो, भिडियो, अनलाइन, छापालगायतका विभिन्न सञ्चारका माध्यबाट प्रकाशित समाचार एकद्वारा प्रणालीबाट विश्वसनीय, रचनात्मक, तथ्यपरक र पारदर्शी तवरबाट वितरण होस् भन्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले सङ्घ र प्रदेशमा रहेका सबै सञ्चारकर्मीलाई समाचारमा एकरुपता ल्याउन आग्रह गर्दै अनौपचारिक रुपमा आजदेखि कर्णाली प्रदेश रङ्गशालामा विभिन्न खेल सञ्चालन भएका जानकारी दिए ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.