राजनीति

नेकपाको जम्बो केन्द्रीय समितिको बैठक सुरु- सरकारी टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन

पार्टी एकतापछि दोस्रोपटक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । बुधबार विहानबाट राष्ट्रियसभा गृहमा बैठक सुरु भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक बसेको बैठकमा समसामयिक राजनीतिक विषयका साथै मुलुकमा उत्पन्न विवादास्पद परिस्थितिका बारेमा गहन छलफल हुने बताइएको छ ।

बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताउनुभएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केन्द्रीय सदस्यहरु सामु सरकारले केके उपलब्धीहरु हासिल गरेको छ भन्ने विववरण प्रस्तुत गर्दै सरकारको बचाउ गर्नुभएको छ । केन्द्रीय कमिटीमा सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेलिभिजमार्फत नै सरकारको बचाउ गर्नुभम्एको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको बताउनुभए पनि त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाउनुभएन । तर उहाँले प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गर्दै वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि आग्रह गर्दै भावनामा बदलेर मात्र क्रान्ति नहुनेमा जोड दिनुभयो ।

बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ । बैठकमा अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.