कोरोना महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनको आग्रह- हालसम्म चार सय २५ जनाको मृत्यु
चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका सम्बन्धमा अनावश्यक हल्ला र शंका उत्पन्न गराएको आरो लगाउँदै उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले चीनस्थित दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने र चीन भ्रमण गरेर फर्केका यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने काम गरेर अनावश्यक हल्ला फैलाएको आरोप लगाउँदै भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य पनि अमेरिकालाई अनुरोध गर्नुभएको छ ।
कोरोना भाइरसको महामारी विरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उहाँले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइसकेको जानकारी दिनुभयो ।
प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाई गर्न लागेको घोषणा गरिएको विषयमा सोधिएको एक प्रश्नमा उक्त धारणा राख्नु भएको हो ।
इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारीका तुलनामा चीनमा यस पटक सरकारको विशेष सतर्कता र स्वास्थ्यकर्मीको व्यापक परिचालनका कारण कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताएका छन् । प्रवक्ता चुनयिङले कोरोना भाइरसको महामारी रोक्न चीन सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ४२५ पुग्यो
यसबीच विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनी १३ औं व्यक्ति थिए । उपचाररत ती व्यक्तिको स्वास्थ्य अवस्था बिग्रिएसँगै मङ्गलबार बिहान मृत्यु भएको हो ।
हङकङको व्याम्पो गार्डेनमा बसोवास गर्दै आएका ती व्यक्ति गत जनवरी २१ मा हङकङबाट उहान र जनवरी २३ मा हङकङ फर्किएका थिए । मङ्गलबारसम्म चीनमा यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२५ पुगिसकेको समाचार संस्था एएफपीले जनाएको छ । यस भाइरसबाट सङ्क्रमण भएका २ हजार १४३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भाइरस सङ्क्रमण ३९६ जनालाई अस्पतालबाट घर फर्काइएको छ ।
हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्