जल/वातावरण

कोरोनाप्रति सरकारको उदासिनता- संक्रमण फैलनसक्ने विज्ञहरुको चेतावनी

विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण चीनमा मात्र ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने विश्वका विभिन्न देशमा संक्रमितहरुको संख्या बढिरहेको छ । यस्तोमा चीनसंग सीमा जोडिएको नेपालमा यसप्रति गम्भीर नभए संक्रमण फैलिनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाल लगायतका देश पनि संक्रमण फैलन सक्ने जनाएपछि स्वास्थ्य सेवा चुस्त र प्रभावकारी भएका देशहरूले गरेको पूर्व तयारी आश्चर्यलाग्दो छ तापनि पर्याप्त पूर्व तयारी नहुँदा पनि नेपाल सरकार ढुक्क भएको पाइन्छ ।

यस विवषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार संसदमा चीन सरकार जसरी नाच्छ, त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन भन्दै वेवास्ताको शैलीमा बोलेपछि आश्चर्य मानिएको छ ।

यस विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक बाबुराम मरासिनी चीनमा रहेको जनताको विषयमा साच्चिकै संवेदनशील भएको भए सरकारले उनीहरुलाई एक हप्ताअघि नै उद्धार गर्नुपर्थ्यो भन्नुहुन्छ । तर कोरोना संक्रमण हुन नदिन नेपालले कुनै तयारी नै गरेको छैन । अर्थात्, तयारी गरेजस्तो देखिए पनि सरकार गम्भीर छैन ।

एक जनस्वास्थ्यविज्ञ भन्छन्, ‘सरकारले कोरोना संक्रमणबाट जोगिन गम्भीर भएर नलागीकन तयारी गरेजस्तो देखाउँदा थुप्रै गम्भीर लापरवाही भएका छन् । सरकारको यस्तो लापरवाहीको सूची लामै छ, पछिल्लो लापरवाहीको उदाहरण हो— चीनबाट आफूखुसी फर्किएकाहरूलाई निगरानीमा नराख्नु ।’

अहिले चीनबाट नेपाल ल्याउन तयारी गरिरहेका नेपालीहरूलाई कोरोना संक्रमण पुष्टि नभएको अवस्थामा मात्र नेपाल ल्याउने भनिएको छ । त्यसैको लागि २ साता छुट्टै क्वारेण्टाइनमा राख्ने ठाउँ खोज्न स्वास्थ्य मन्त्रालय एक सातादेखि दौडधुप गरिरहेको छ । किनकि, विश्व स्वास्थ्य संगठनले ‘चीनबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा २ साता क्वारेण्टाइनमा राख्नुपर्छ’ भनेर स्पष्ट मापदण्ड बनाएको छ ।

एक नेपाली युवक कोरोना संक्रमित भएको ३ साता बितेको छ । ती युवालाई कोरोना संक्रमित भएको पुष्टि नहुँदै डिस्चार्ज दिएर अस्पतालले गम्भीर लापरवाही गरेको थियो । पछिल्लो समय चीनबाट फर्किएकाहरूलाई लक्षण नदेखिएकै भरमा घर जान दिनु अर्को गम्भीर लापरवाही भएको विज्ञहरू बताउँछन् । जसको परिणाम भयानक हुन सक्ने उनीहरूको तर्क छ। नाम नबताउने सर्तमा एक भाइरोलोजिस्ट भन्छन्, ‘मन्त्रालयले यो अवस्थामा के गर्ने भनेर गम्भीरतापूर्वक नलिएकाले कुनै तयारी नै भएन। सरकारको निर्देशनबिना अस्पतालमात्रैले पनि गर्न नै के सक्छ र ?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा। अनुप बास्तोला गएको २ सातामा चीनबाट फर्किएका ६० जनाभन्दा बढी नागरिक सोधपुछका लागि अस्पताल पुगेको बताउँछन् । उनका अनुसार, सरुवा रोग अस्पतालले उनीहरूलाई अस्पतालमै बस्न भनेको थियो, तर लक्षण तथा चिह्नहरू नदेखिएकाले उनीहरू टेकु अस्पतालमा बसेनन् । बास्तोलाका अनुसार, सरकारले चीनबाट फर्किएकाहरूलाई अनिवार्य ‘आइसोलेशनमा बस्न नभनेकाले पनि उनीहरूलाई अस्पताल बस्न बाध्य नपारिएको हो। क्वारेण्टाइनको व्यवस्था भइनसकेकाले पनि ज्वरो तथा रुघा नलागीकन उनीहरू आइशोलेशन वार्डमा बस्न मानेनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.