जल/वातावरण

विद्यालयमा नयाँ तरिका- "बच्चाको हातमा खाजा : आमाको हातमा पैसा"

– माधव बेल्वासे

कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीलाई नियमित विद्यालय उपस्थित गराउन ‘बच्चाको हातमा खाजा : आमाको हातमा पैसा’ अभियान चलाएको छ । बच्चाको खाजाबापतको रकम विद्यार्थीका आमाले पाउने कार्यक्रम आम बच्चाको पोषण र स्वास्थ्य सुधारमा प्रभावकारी बन्दै गएको छ ।

नगरभित्र रहेका ६६ सामुदायिक विद्यालयमा ११ हजार २९६ विद्यार्थीलाई अहिले खाजाबापतको रकम वितरण गरिएको छ । नगरपालिकाका अनुसार उक्त कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रु ६५ लाख र दोस्रो चौमासिकमा रु एक करोड १६ लाख आमाले बुझेका छन् । चालु आर्थिक वर्षमा खाजा कार्यक्रमका लागि रु तीन करोड ८४ लाख ८० हजार बजेट विनियोजन गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत पूर्ण विकले बताउनुभयो ।

“विद्यालयमै खाजा बनाएर खुवाउनुभन्दा उनीहरूका आमालाई खाजा बराबरको रकम दिएर खाजा बनाउन लगाउने कार्यक्रमले विद्यालयसँग बालबालिकाका र आमाको निरन्तर सम्पर्क हुन थालेको छ”, उहाँले भन्नुभयो, “यस कार्यक्रमले बालबालिका नियमित रुपमा विद्यालय आउन थालेको छ भने उनका आमाले पनि विद्यालयको गतिविधिमा सहयोग गर्न थालेका छन् । यसले विद्यालयमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याएको छ ।”

पहिला बेवास्ता गर्ने आमाले अहिले आफ्ना बालबालिका खाजा बनाएर पठाउने गरेको शिक्षक विष्णु भण्डारीले बताउनुभयो । जिल्लामा रहेका ६०० भन्दा बढी सामुदायिक विद्यालयमा खाजा कार्यक्रम लागू भएको छ । विद्यालय जाँदा चाउचाउ, चाउमिन, नमकिन जस्ता तयारी खाजा लैजाने बालबालिकाको हातमा हिजोआज घरमै पकाएको खाजा राखेको डब्बा हुन्छ । विद्यालयमा यो कार्यक्रम लागू गरेपछि विद्यार्थीको सङ्ख्या बढेको छ ।

शिवराज नगरपालिका–१ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीको उपस्थिति ९५ प्रतिशत पुगेको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताउनुभयो । कक्षा ५ सम्म अध्ययनरत ११० विद्यार्थी रहेको भन्दै अहिले नियमित १४० भन्दा धेरै आउने गरेको चौधरीले बताउनुभयो । ‘खाजा खान भन्दै दिउँसो घर जाने विद्यार्थी पहिले फर्किदैनथे, अहिले खाजा लिएर आउने भएपछि विद्यार्थी पूरै समय पढाइमै केन्द्रित हुन्छन्”, चौधरीले भन्नुभयो ।

शिवराज नगरपालिका–१० सितलापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका अभिभावकले विद्यालय खाजाको रकमले विद्यार्थीलाई शैक्षिक सामग्री व्यवस्था गरिदिने गरेका छन् । ‘पहिले धेरै विद्यार्थी कपी, किताब पेन नलिई विद्यालय आउने गरेका थिए, अहिले सबैका अभिभावकले किनीदिने गरेका छन्”, विद्यालयका प्रधानाध्यापक कमल पौडेलले भन्नुभयो ।

गरिब, विपन्न समुदायका बालबालिकालाई अभिभावक भेलाबाटै विद्यार्थीलाई शैक्षिक सामग्री व्यवस्थापन गर्न आग्रह गरेको उहाँले बताउनुभयो । खाजाबापत आउने रकमबाट छोराछोरीलाई कापी, कलम किन्न सहज भएको अभिभावक मङ्गली कहाँरले बताउनुभयो । ‘घरमा आम्दानीको स्रोत छैन्, बालबालिकालाई पढाउन मुस्किल छ, अहिले यही रकमले उनीहरुलाई सामग्री किनिदिने गरेकी छु”, उहाँले भन्नुभयो ।

नगरपालिकाअन्तर्गत ६६ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुने र पढाइतर्फ रुचि बढ्दै गएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । रु १५ का दरले दिने उक्त खाजा कार्यक्रममा कक्षा शिक्षकले दैनिक विद्यार्थीको खाजा जाँच गरेर हाजिरीमै टिक लगाउने गर्दछन् । चार महिनाको एकमृष्ट विद्यार्थीको आमालाई उक्त रकम दिने गरिन्छ ।

“विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य हो”, नगर प्रमुख अधिकारीले भन्नुभयो, “कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।” बालविकास कक्षामा अध्ययनरत स–साना बालबालिकाले दिउँसोको खाजा आफँै व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई स्वच्छ र सफा खाजा उनकै आमबाट बनाएर उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

“कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका आमा नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.