सूचना/प्रविधि

मोबाइल बैंकिङ एप : सुविधासंगै थपियो चुनौति

विश्वमा सूचना प्रविधिको तीव्र विकासले आम मानिसको दैनिकी अति सहज बनाएको छ । यो एक किसिमले सकारात्मक पक्ष हो भने प्रविधिकै माध्यमबाट असुरक्षा र अन्य धेरै चुनौतिहरु पनि थपिएका छन् ।

पछिल्लो समय मोबाइल बैंक प्रयोग बढिरहेको छ । तर, व्यक्तिको मोबाइल नम्बरका आधारमा सञ्चालन हुने मोबाइल बैंकिङ एपमाथि ह्याकरले विभिन्न उपायको उपयोग गरी सहजै पहुँच जमाउन सक्ने हुँदा बैंक खातामा भएको रकम जुनसुकै बेला हराउनसक्ने अवस्था छ ।

उदाहरणका रुपमा गत मङ्सिर २६ मा ललितपुरको सातदोबाटोमा हरिप्रसाद ढकालको नाममा रहेको एनआइसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी भएको घटनालाई लिन सकिन्छ ।

यो घटनापछि सबै मोबाइल एप प्रयोगकर्तालाई त्रसित बनाएको छ । प्रविधिको विकाससँगै यसको दुरुपयोग गरी ठगी गरेका समाचार पनि समय–समयमा आइरहन्छन् । ह्याकरले विभिन्न प्रलोभनसहितका प्रस्ताव गर्दै सामाजिक सञ्जालमार्फत पठाउने लिङ्कमा अन्जानमै हुने एकै क्लिकका भरमा व्यक्तिगत मोबाइलमा ह्याकरले सहजै पहुँच स्थापित गर्न सक्छन् ।

जसले गर्दा व्यक्तिको बैंक खातासम्म अनधिकृत पहुँच स्थापित गरी खातामा भएको रकम सहजै निकाल्न सक्छन् ।

पछिल्लो बढ्दो डिजिटल प्रविधिको प्रयोगसँगै पछिल्लो समय अपराध र चोरी नियन्त्रणमा नयाँ चुनौती थपिएको छ । समय समयमा भइरहने यस्ता घटनाले मोबाइल बैकिङ प्रयोगकर्तामाथि जोखिम उत्पन्न भएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पछिल्लो सात महिनामा महाशाखामा मात्रै आठ सयभन्दा बढी यस्ता ठगीका उजुरी परेका छन् । “यो हाम्रो महाशाखाको मात्रै तथ्याङ्क हो, केन्द्रीय ब्यूरो र काठमाडौँमा दर्ता भएका अझ धेरै छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत ठगिनेको सङ्ख्या पनि उत्तिकै छ ।”

बैकिङ क्षेत्रमा डिजिटल सुरक्षा यो दशककै जटिल समस्या बनेको उहाँको भनाइ छ । पाँच वर्ष अघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सार्वजनिक गरेको एक प्रतिवेदनमा हरेक वर्ष विश्वभरका बैंकले एक खर्ब डलर साइबर हमलामा गुमाउने गरेको उल्लेख गरेको थियो ।

विसं २०७६ भदौ १४ मा चिनियाँ ह्याकरले नेपालका एटिएम ह्याक गरी करिब रू तीन करोड ५८ लाख चोरी गरेका थिए । चोरीका क्रममा नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिएका थिए । सो घटनामा पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ ग¥यो ।

उक्त चोरीमा संलग्न भएका नेपाल आएका दुई जना र भारतबाट पैसा निकाल्ने अन्य व्यक्तिहरू अनुसन्धानको घेरामा आउन सकेका छैनन् । तत्कालीन समयमा प्रभु बैंकको खाताबाट रू दुई करोड ४५ लाख, ग्लोबल आईएमईको खाताबाट ४६ लाख, सनराइज बैंकको खाताबाट २५ लाख, माछापुच्छ्रे बैंकको खाताबाट २१ लाख, एनआईसी एसिया बैंकको खाताबाट १७ लाख,र सिटिजन्स बैंकको खाताबाट तीन लाख ४५ हजार निकालिएको थियो ।

पछिल्लो समय भइरहेको बढ्दो क्रममा रहेको डिजिटल ठगी र अपराधबाट बच्नका लागि साइवर सुरक्षासम्बन्धी जनचेतना नै आवश्यक भएको क्यान महासङ्घका अध्यक्ष रञ्जीत पोद्दारको भनाइ छ ।

“दिनानुदिन प्रविधिको विकास र प्रयोग बढ्दै गइरहेको छ, ह्याकरले जतिपनि अपराध र चोरी गरेका छन् ती सबै सफ्टवेयरमार्फत् सर्भरमा पहुँच पु¥याएर गरिएको छ”, उहाँले भन्नुभयो, “कुनै पनि सफ्टवेयर प्रयोग गर्नुअघि यो कति सूरक्षित छ र उपयुक्त छ, राम्रो र नराम्रो कुरा के छन् भन्ने थाहा पाउनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.