राजनीति

एमालेले महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने

नेकपा एमालेले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदमको सङ्ज्ञा दिंदै यसलाई गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको प्रमुख प्रतिपक्ष दल एमाले सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै महासचिव शङ्कर पोखरेलले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अदालतमाथिको प्रहार, सिङ्गो लोकतन्त्र र सार्वभौम सत्तामाथिको प्रहार भएको बैठकले ठहर गरेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “एमालेले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ, यसलाई एमालेले गम्भीर ढङ्गले लिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ ।”

उहाँले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको भन्दै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिगार्ने षड्यन्त्रका साथ आएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “आगामी स्थानीय तहको चुनावलाई समेत असर पार्ने र चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको छ, यो प्रस्तावले सर्वोच्च अदालतमा रहेका विचाराधीन मुद्दालाई प्रभावित पार्ने योजनाका साथ आएको हाम्रो ठहर छ, यसले देशको राजनीतिक प्रणालीलाई अस्थिर बनाउँछ ।”

महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने बैठकले निर्णय गरेको जानकारी दिँदै उहाँले महाअभियोग असफल पार्न जरुरी रहेकाले सोमबार बस्ने एमाले संसदीय दलको बैठकले त्यसका लागि निर्देशन दिने र महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.