असहमतिका विषयमा बल प्रयोग गरेर हुँदैन : खनाल
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी सम्झौतामा जनताको असहमति रहेकाले त्यसमा बल प्रयोग गरेर नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले जनतालाई गुमराहमा राखेर गरिएकाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ्न नहुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “कतिपय विषयमा दशौँ वर्ष लगाएर सहमति हुन्छ । कतिपय विषय परिस्कृत हुन्छ, परिमार्जन हुन्छ, बदलिन्छ, अनिमात्रै सहमति हुन्छ । असहमतिका विषयमा बल प्रयोग गरेर हुन्छ ?”
सडकमा विरोध र सरकारमा पनि बस्ने कुरा एकैसाथ हुन्छ र भन्ने पत्रकारको प्रश्नमा पूर्वप्रधानमन्त्री खनालको जवाफ थियो, “किन नहुनु मज्जाले हुन्छ । यहाँ भइरहेको छ देख्नुभएन ?”
नेकपा (माओवादी केन्द्र)का नेता ओनसरी घर्तीले एमसीसी राष्ट्रिय सरोकारको विषय भएको र प्रतिपक्षी दल अहिले पनि विरोधको स्थितिमा रहेकाले सबैको सहमतिमा अघि बढ्न दल एकै ठाउँमा बसेर छलफल नगरिकन अघि नबढौँ भन्ने हाम्रो आग्रहबमोजिम आजको बैठकमा सो प्रस्ताव पेश नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गठबन्धनभित्रका कुनै दलले सो प्रस्तावबारे आफ्नो निर्णय गर्न सक्ने र अरु दलले त्यसलाई नमान्न पनि सक्छ । प्रतिपक्षको अवरोध कायम रहेकाले पनि आज टेबुल गर्नतिर गइएन ।”
प्रतिक्रिया राख्नुहोस्