जापानबिशेष

जापानमा पीआर प्रक्रिया कडा बनाउने तयारीसंगै आप्रवासीमा बढ्यो चिन्ता

जापान सरकारले स्थायी बसोबास अनुमति प्राप्त गर्ने प्रक्रिया थप कडा बनाउने तयारी गरेपछि त्यहाँ बसोबास गरिरहेका तथा भविष्यमा पीआरका लागि आवेदन दिने विदेशी नागरिकहरूमा चिन्ता बढ्न थालेको छ।

‘द जापान टाइम्स’मा प्रकाशित एक रिपोर्टअनुसार, सरकारले आप्रवासन नियन्त्रणलाई थप प्रभावकारी बनाउने र केही विदेशी नागरिकबाट भएका नियम उल्लंघनलाई नियन्त्रण गर्ने उद्देश्यले पीआरसम्बन्धी नयाँ मापदण्ड तयार गरेको हो।

सार्वजनिक भएको आप्रवासन सेवा एजेन्सीको मस्यौदा निर्देशिकामा स्थायी बसोबासका लागि आवेदन दिने व्यक्तिले आम्दानी, पेन्सन योगदान, जापानी भाषा ज्ञान तथा समाजमा घुलमिल हुन सक्ने क्षमतासम्बन्धी स्पष्ट मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

यस्तै, जापानी नागरिक वा स्थायी बसोबासको अनुमति प्राप्त व्यक्तिसँग विवाह गरेका विदेशी नागरिकका लागि पनि पीआर प्राप्त गर्ने प्रक्रिया पहिलेभन्दा कडा बनाइने प्रस्ताव गरिएको छ।

यसले हालसम्म अपेक्षाकृत सहज रूपमा पीआर पाउने समूहका लागि पनि थप योग्यताको मापदण्ड लागू हुने देखिएको छ। हाल जापानमा स्थायी बसोबास अनुमति प्रदान गर्दा तीनवटा मुख्य कानुनी आधारलाई प्राथमिकता दिइन्छ।

पिआरका लागि आवेदकको असल आचरण हुनुपर्ने, आफ्नै आय वा सीपका आधारमा स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने आर्थिक क्षमता हुनुपर्ने, र उक्त व्यक्तिलाई स्थायी बसोबासको अनुमति दिनु जापानको राष्ट्रिय हितमा रहेको ठहर हुनुपर्ने व्यवस्था छ।

सरकारले यी आधारहरूलाई अझ स्पष्ट र कडाइका साथ लागू गर्ने तयारी गरेसँगै नयाँ मापदण्डले योग्यताको स्तर उकास्ने अपेक्षा गरिएको छ।

यद्यपि, प्रस्तावित व्यवस्थाले जापानमा दीर्घकालीन रूपमा बसोबास गरिरहेका विदेशी नागरिक तथा पीआरको तयारीमा रहेका आवेदकहरूमा भविष्यप्रति अन्योल र चिन्ता बढाएको बताइएको छ।

– तस्वीर र समाचार स्रोत जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.