दल बाहिरको राष्टिय व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्छ
मुलुकको भावी राष्ट्रपतिमाा नेकपा एमाले र नेपाली कांग्रेसले दावी गरिरहेका बेला कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति दलभन्दा बाहिरको व्यक्तित्वलाई अघि सार्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिमा राष्टिय सहमति कायम गर्ने र त्यस्तो सहमति कांग्रेसका उम्मेदवारमा हुने दावी कांग्रेसका नेताले गरिरहँदा डा. कोइरालाले कांग्रेसले राष्ट्रपतिको उम्मेदवार दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सो धारणा सार्वजनिक गर्नुभएको हो ।
सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताउनुभएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुने दावी गरेकोप्रति लक्षित गर्दै डा. कोइरालाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने पनि बताउनुभयो ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।




प्रतिक्रिया राख्नुहोस्