जापान र चीनबीच चार वर्षमा पहिलो सुरक्षा वार्ता
पछिल्लो समय निकै तनाव र चुनौतिपूर्ण अवस्थामा रहेका जापान र चीनबीच झण्डै ४ वर्षमा पहिलो पटक सुरक्षा वार्ता भएको छ । बुधबार टोकियोमा दुई देशका विदेश र रक्षा मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता भएको हो ।
वार्तामा जापानका परराष्ट्र मामिलाका वरिष्ठ उपमन्त्री शिगेओ यामादाले द्विपक्षीय सम्बन्ध चुनौती र चिन्ताले घेरिएको बताउनुभयो । उहाँले ओकिनावा प्रान्तको सेन्काकु टापुहरू सहित पूर्वी चीन सागरको अवस्थालाई चित्रण गर्दै रुसी समन्वयमा जापान वरिपरि बढ्दो चिनियाँ सैन्य गतिविधिबारे पनि चर्चा भएको बताउनुभयो ।
गुप्तचर संकलनका लागि प्रयोग गरिएका चिनियाँ बेलुनहरू जापानी वायुक्षेत्रमा प्रवेश गरेकोमा जापानले कडा आपत्ति जनाएको पनि उहाँले बताउनुभयो । अहिले सेन्काकु टापुहरूमा जापानको नियन्त्रण छ, तर यसमा चीन र ताइवानले दाबी गर्दै आएका छन् । जापान सरकारले द्वीपसमूह जापानी क्षेत्रको अभिन्न अंग हो भन्ने आफ्नो अडान कायम राखेको छ।
त्यस्तै यामादाले द्विपक्षीय वार्तालाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले दुई देशका नेताहरु रचनात्मक र स्थिर द्विपक्षीय सम्बन्ध निर्माण गर्नुपर्नेमा सहमत भएको बताउनुभयो । चीनका उपविदेशमन्त्री सुन वेइडोङ दुई देशका नेताहरू एकअर्काका लागि खतरा नबनाउन सचेत रहेको प्रतिक्रिया दिनुभयो।
सुनले गत वर्ष अपनाएको जापानको सुरक्षा दस्तावेज पनि उल्लेख गरेको छ । उहाँले ताइवान मामिलामा जापानको गलत कदमविरुद्ध चीन चिन्तित रहेको बताउनुभयो । उहाँले यस विषयमा चीनले जापानबाट जिम्मेवार स्पष्टीकरण चाहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्