राजनीति

"महंगो शासकीय स्वरुपले भ्रष्टाचार बढायो, जनतामा निराशा छायो- यसलाई बदलौं"

सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले वर्तमान शासन प्रणाली असफल भएको धारणा राख्दै अब प्रत्यक्ष निर्वाचित कार्यकारीमा मुलुक जानुपर्ने सुझाव दिनुभएको छ । मंगलबार संघीय संसदको विशेष समयमा बोल्दै तामाङले शासकीय प्रणाली बदल्नैपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

पूर्व कानुनमन्त्री समेत रहनुभएका तामाङले प्रत्यक्ष कार्यकारी राष्ट्रपति अनि स्थानीय तह र प्रदेशहरुको संख्या पनि घटाएर जनप्रतिनिधि र शासकहरुको संख्या घटाउनुपर्ने उहाँको माग छ । अहिलेको महंगो शासन प्रणालीले जनतामा निराशा बढेको र अहिले देशमा बढेको भ्रष्टाचारबाट मुलुकलाई मुक्त गर्न शासकीय स्वरुपमा परिवर्तन गर्नैपर्ने बताउनुभयो ।

तामाङले सुझाव दिंदै भन्नुभयो- “अहिलेको व्यवस्थापकीय ढाँचालाई बदलेर एक सदनात्मक पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु आवश्यक छ । यसो गर्दा चुनाव महंगो हुँदैन । निर्वाचन जसरी पनि जित्नुपर्ने धारणाको अन्त्य हुनेछ र निर्वाचन जितेपछि जनताप्रति हैन पैसाा कमाउने बाटोतिर जाने प्रथाको अन्त्य भै भ्रष्टाचार, कमिशन खोर, अनियमितताको अन्त्य हुनेछ ।”

अहिले अनावश्यक रुपमा बढ्दै गरेको राज्यले पाल्नुपर्ने संरचनाहरुलाई यसबाट घटनाउन उहाँको सुझाव छ । यसका लागि प्रदेशको अहिलेको संरचनालाई केही घटाएर समन्वयकारी निकायको रुपमा परिणत गर्नुपर्ने र ७ सय ५३ स्थानीय तह घटाएर ३५० हाराहारीमा बनाउनु आवश्यक रहेको उहाँको सुझाव छ ।

त्यस्तै काठमाडौंलाई एउटा वृहत काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर वृहत्तर विकास गर्नुपर्छ । यसो गर्दा साधारण खर्च कम गरेर केही खर्ब रुपैयाँ बचत हुने र त्यसबाट विकास गर्न सघाउ पुग्नेछ ।

सांसद तामाङ अहिलेको शासन प्रणालीले भ्रष्टाचारमात्र बढाएको, विकासको काम शून्य भएकाले संसददेखि स्थानीय तहको समेत पुनःसंरचना गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दलहरुले तत्काल संविधान संशोधनका लागि आवश्यक पहल यही ससनमा गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.