राजनीति

काँग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तामा बसेर एमसीसीको बिरोध गरिरहेको माओवादी केन्द्र र पारित गर्ने पक्षमा रहेको नेपाली कांग्रेस दुबैले साथ लिन खोजिरहेका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गर्ने प्रस्तावमा सत्ता गठबन्धनका दुई दल नै विपक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को साथ खोजिरहनुभएको छ ।

पछिल्लो छलफलमा एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव राखेको छैन । एमसीसी पारित गर्न र संसदको अबरोध हटाउन एमालेको पूर्व अडान कायमै छ । तर, काँग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने बताएको वार्तामा संलग्न एमाले नेताले बताएका छन् ।

हिजो शुक्रबार साँझ प्रधानमन्त्री देउवा मन्त्रीहरु र कांग्रेसका नेतासहित ओली निवास पुग्नुभयो । उहाँहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्यो भन्नुभएको छ, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौँ भन्नुभयो ।”

एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू (कांग्रेस–एमाले) एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भन्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

छलफलपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । एमसीसी अनिर्णयको बन्दी बन्नुहँुदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उहाँले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्नेबारेमा छलफल भएको बताउनुभयो ।

ज्ञवालीले छलफलबारे भन्नुभयो, “आजको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।” एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उहाँको भनाइ छ ।

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.