आणविक सामग्री तस्करीमा ‘याकुजा’ सदस्य ताकेशी दोषी ठहर
अमेरिकाको एक अदालतले आणविक सामग्रीका साथै लागूपदार्थ र हतियार तस्करी गरेको अभियोगमा जापानी ‘याकुजा’ समूहका एक सदस्यलाई दोषी ठहर गरेको छ ।
मंगलबार न्यूयोर्कको संघीय अदालतले आणविक सामग्री तस्करी गरेको अभियोगमा ६१ वर्षीय ताकेशी एबिसावालाई २० वर्षको जेल सजाय सुनाएको छ।
अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको वर्षौंको अनुसन्धानपछि उनका थाई सहप्रतिवादी सोम्फोप सिंहासिरीसँगै अप्रिल २०२२ देखि लागूपदार्थ र हतियारसम्बन्धी अभियोगमा कारागारमा राखिएको थियो।
ताकेशी एबिसावा विरुद्धको यो मुद्दा केवल लागूऔषधमा मात्र सीमित नभई आणविक हतियार निर्माणमा प्रयोग हुने ‘प्लुयोनियम’ तस्करीको प्रयाससँग जोडिएकाले यसलाई निकै गम्भीर रूपमा हेरिएको थियो। ताकेशी एबिसावाले जनवरी २०२५ मा कुल ६ वटा अभियोगमा आफ्नो दोष स्वीकार गरेका थिए।
फेब्रुअरी २०२४ मा उनलाई म्यानमारका सशस्त्र समूहहरूका लागि सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र लगायतका हतियारहरू खरिद गर्नका लागि हेरोइन र मेथाम्फेटामाइन जस्ता लागूपदार्थका साथै सैन्यग्रेडको आणविक सामग्री बिक्री गर्न खोजेको आरोप समेत लगाइएको थियो।
राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन आइसेनबर्गले भने “ताकेशी एबिसावालाई इरानलाई हतियार ग्रेडको प्लुटोनियम बिक्री गर्ने प्रयास र न्यूयोर्कमा घातक लागूपदार्थ भित्र्याउने लगायतका उनका अपराधहरूका लागि जवाफदेही बनाइएको छ।”





प्रतिक्रिया राख्नुहोस्