राजनीति

कोरोना संक्रमण रोक्न सरकारले गरेका कामबारे संसदलाई जानकारी गराउन प्रस्ताव

गगन थापा

गगन थापा

प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्व तयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गर्नुभएको थियो । सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।

प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सही ढङ्गले सूचना दिई नेपाल बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ ।

“यो कुनै एउटा मन्त्रालय र सरकार वा निकायको मात्र जिम्मेवारी होइन, व्यक्ति समुदाय सबैतहका सरकार गैरसरकारी र साझेदार संस्था सबै एक ठाउँमा रहेर यस चुनौतीको सामना गर्नुपर्छ”, प्रस्तावमा भनिएको छ, “विश्वव्यापी जनस्वास्थ्य आपत्कालको यस अवस्थामा नेपालको सम्भाव्य जोखिमसँग जुध्नका लागि सबै तह र निकाय एकजुट हुनुपर्ने भएकाले यसलाई साझा अभियान र राष्ट्रिय सङ्कल्पका रुपमा अगाडि बढाउन आवश्यक छ ।”

जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि सङ्क्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भाइरस सङ्क्रमण हुन नदिन सबैको आआफ्नो जिम्मेवारी रहेको बताउनुभयो । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताउनुभयो ।

कसले के काम गर्ने भन्ने कुरा स्पष्टरुपमा व्यवस्थापन गर्नुपर्छ भन्दै थापाले संसद्बाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाहिरबाट आएका केही विदेशी सहजरुपमा नेपाल प्रवेश भएको र उनीहरु कहाँ छन् भन्नेबारेमा सरकारले ध्यान दिन नसकेको भन्दै उहाँले सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो ।

सो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षका सांसदले छलफलमा भाग लिँदै कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.