जन सरोकार

जहाँबाट सदरमुकाम हिँडेर चार घण्टामा पुगिन्छ- गाडी चढेर गए दिनभर

म्याग्दी घुगङ्गा गाउँपालिका–७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्नुहुन्छ । यसको कारण छ सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर चार घण्टामै बेनी पुगिन्छ ।

सर्वसाधारण चिमखोला–दर्मिजा–दग्नामको घोरेटो र दग्नामदेखि बेनी जोड्ने सडक प्रयोग गरेर आवतजावत गर्छन् । दुर्गम क्षेत्रमा पर्ने चिमखोला र कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएको नौ वर्ष भए पनि स्थानीयले सुविधा पाएका छैनन् । कच्ची सडक प्राविधिकरुपमा कमजोर, मर्मतको अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।

विसं २०६७ मा बेगदेखि चिमखोला हँुदै कुइनेमङ्गलेको सिमानासम्म जोड्ने २८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारी साधन सञ्चालन हुन सकेको छैन । चिमखोला र कुइनेमङ्गलेका बासिन्दा सदरमुकाम बेनी आउन जान भिरपहरा, जङ्गल र खोल्साखाल्सी भएको पैदलमार्गमा हिँड्नुपर्ने बाध्यता रहेको कुइनेमङ्गलेका वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

“गाडी चल्ने सपना जस्तै भयो”, उहाँले भन्नुभयो, “ट्र्याक्टर चल्न पनि राम्रो मौसम कुर्नुपर्छ ।” गलेश्वरदेखि पिप्ले भगवती हुँदै बेगसम्म पुगेको सडक विस्तार गरेर चिमखोला पु¥याउन तत्कालीन गाविस, जिविस र स्थानीय बासिन्दा तथा विदेशमा रहेकाले रु ६० लाख लगानी गरेका थिए । हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्र्याक्टर चल्ने चिमखोलाका गम पुनले बताउनुभयो । सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । बेनीदेखि चिमखोला रिजर्भमा ट्याक्टरबाट ढुवानी गर्दा रु २० हजार भाडा लाग्ने व्यवसायी सञ्जय कँुवरले बताउनुभयो ।

ट्र्याक्टर चालक जगत दर्जीले तीन हजार मिटर उचाइमा हिउँ छिचोलेर चिमखोला पुग्ने र फर्किने सडक जोखिमपूर्ण भएको बताउनुभयो । “एक्लै जान सकिँदैन । दुई तीन वटा ट्र्याक्टरसँगै लैजान्छौँ”, उहाँले भन्नुभयो, “बाटोमा फस्यो भने अर्को ट्र्याक्टरले तानेर निकाल्छौँ ।”

बिरामी पर्दा र अन्य कामले सदरमुकाम जान आउनका लागि पैदलयात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको कुइनेमङ्गलेका शिक्षक देउमान घर्तीले बताउनुभयो । चिमखोला र कुइनेमङ्गलेमा ५०० भन्दा बढी घरधुरीको बसोबास छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पुरानो सडक असफल भएकाले दग्नाम–दर्मीजा–चिमखोला सडक निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । गाउँपालिका र सडक डिभिजन कार्यालयले चिमखोलादेखि दर्मिजा नजिकैको भिरसम्म दुई किलोमिटर सडक खनिसकेका छन् । मौवाफाटदेखि दग्मामस्थित अजिङ्गर भिरसम्म पुगेको सडक विस्तार गर्न यो वर्ष रु दुई करोड ५० लाख विनियोजन भएको छ ।

सडक डिभिजनले विनियोजन गरेको एक करोड बजेटको ठेक्का लागिसकेको सांसद थममाया थापाले बाउनुभयो । गण्डकी प्रदेश सरकारले रु ७५ लाख, निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख र गाउँपालिकाले रु ३० लाख विनियोजन गरेका छन् । पाँच किलोमिटर समान्य बाटो खोलेपछि सडक जोडिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.