प्रदेशसुदूरपश्चिम

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मंगलबार आफ्ना मन्त्रीहरु बर्खास्तमा परेपछि नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सत्ता साझेदार थियो । कूल ५३ सदस्यीय प्रदेशसभामा सभामुखबाहेक सो पार्टीका दश प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका १९ सदस्यमध्ये बझाङबाट प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएको थियो ।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दश, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)ले आज मध्याह्नसम्म सरकारमा रहने वा नरहने भन्नेबारेमा कुनै निर्णय गरिसकेका छैनन् ।

यसअघि मङ्गलबार मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माललाई पदमुक्त गर्नुभएको थियो ।

मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.