राजनीति

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहनुभएको थियो । प्रधानमन्त्री दाहालले बुधबार गर्नुभएको मन्त्रिपरिषद् गठनमा उहाँ उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको थियो । त्यसअघि उहाँ २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बन्नुभएको थियो । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहनुभएका उहाँको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उहाँले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गर्नुभएको थियोे । उहाँतत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा पनि हुनुहुन्थ्यो ।

संविधानसभा सदस्यसमेत रहिसक्नुभएका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको हो । उहाँका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उहाँले जेलजीवन बिताउनुभएको छ ।

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा संयोजन गर्ने कुशल संयोजकका रूपमा उहाँलाई लिइन्छ ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उहाँको एकाएक चर्चा भएको थियो । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उहाँले खेलेको कुशल संयोजनकारी भूमिकाले उहाँलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो ।

अठार वर्ष भूमिगत रहनुभएका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक हुनुभयो । उहाँले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गर्नुभयो । भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै हुनुहुन्छ । मन्त्री श्रेष्ठले १० कक्षासम्म गाउँकै परोपकार आदर्श माविमा अध्ययन गर्नुभयो । उहाँ पढ्नमा तीक्ष्ण हुनुहुन्थ्यो । सधैँ कक्षाका प्रथम हुनुभयो । २०३२ सालमा एसएलसी गर्दा गणित विषयमा १०० नं ल्याएर स्कुलको रेकर्ड तोड्नुभएको थियो । पहिला मेडिकल कलेजमा अध्ययन गरेका उहाँले २०४० सालमा जनप्रशासन क्याम्पसबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । उहाँले अर्थशास्त्रमा पनि स्नातक गर्नुभएको छ ।

पन्ध्र वर्षमा एसएलसी उत्तीर्ण गर्नुभएका उहाँ १६ वर्षको उमेरमा नै जेल पर्नुभएको थियो । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई केन्द्रीय कारागाारमा राखिएको थियो । उहाँ दोस्रोपटक ०३६ सालमा पनि गोरखामा जेल पर्नुभयो । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ पर्नुभयो ।

मन्त्री श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका कम्युनिष्ट नेता श्रीनाथ अधिकारीबाट पार्टी सदस्यता लिनुभएको हो । २०४७ सालमा मशाल, चौम र सर्वहारावादी श्रमिक सङ्गठनका बीचमा एकता गर्ने क्रममा उहाँ पार्टी एकता संयोजन समितिको सदस्य रहनुभयो । एकता भएपछि २०४८ सालमा एकता महाधिवेशनबाट उहाँ नेकपा (एकता केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.