अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान : प्रतितोला १ लाख ५ हजार ५ सय

नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार १ लाख ३ हजार कायम भएको थियो । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ ।

२०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएर सबैभन्दा उच्च मूल्यको कीर्तिमान कायम भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो ।

यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ आकासिएको व्यवसायी बताउँछन् । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार विश्वमा महामारी, युद्ध वा अन्य संकट आईपर्दा सुनको मूल्य सबैभन्दा छिटो प्रभावित हुने गरेको छ ।

त्यसै गरी बुधबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १४१० रुपैयाँ थियो । सामान्यत सुन र चाँदीको भाउ सम्बन्ध सकारात्मक हुन्छ ।

नेपालमा सुनको भाउ बढ्नुमा युक्रेन समस्या मात्र नभएर आयातमा लगाएको सीमा पनि हो । हाल दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । नेपालमा वाणिज्य बैंकहरुले सुन आयात गरी व्यापारीहरुलाई बिक्री गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button