कर्पोरेट/पर्यटन

गौतमबुद्ध विमानस्थलमा बन्द भएको जजिराको उडान पुनः सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग

खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको जजिरा एयरवेजको उडान बिहीबार देखि पुनः सुरु भएको छ ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा ८ बजे ९३ जना यात्रु लिएर उडेको हो । जजिराले अब मङ्गलबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन नियमित उडान गर्ने झाले बताउनुभयो ।

गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनदेखि उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो । यसअघि जजिराले उडान सुरु गर्ने विभिन्न मिति तोके पनि उडान भएको थिएन ।

भैरहवा विमानस्थलबाट एउटा एयरलाइन्सको हप्तामा तीनवटा मात्र उडानले विमानस्थल दिगोरूपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन् ।

बन्द भएको जजिरा एयरलाइन्सको उडानले यो क्षेत्र उत्साहित भए पनि यो पर्याप्त नरहेको सोसाइटी फर नेपाल टुर्स एण्ड ट्राभल्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाइ छ । उहाँले जजिराले श्रमिकलाई मात्र लक्षित गरी उडान गरेकाले यहाँ पर्यटक लक्षित विमान उडान हुन आवश्यक रहेको बताउनुभयो । “गुणस्तरीय पर्यटकका लागि नेपालकै ध्वजावाहकसँगै हिमालय, बुद्ध एयरलगायतले पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ”, बजिमयले भन्नुभयो, “नेपाल–भारत, नेपाल–चीनलगायत अन्य बौद्ध धर्मावलम्बी देशहरूमा भैरहवाबाट उडान भरेमात्र विमानस्थलले सार्थकता पाउँछ ।”

करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय उडानका रूपमा जजिराले कुवेत–भैरहवा–कुवेत उडान सुरु गरेको थियो । सुरुमा उत्साहित जजिराले उडानको केही समयमा नै दैनिक उडान गरिरहेको थियो । तर त्यसको केही समयपछि विभिन्न बहाना बनाउँदै उसले पुनः सातामा तीन उडान गर्दै अन्ततः उडान नै बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीको एयरलाइन्सले उडान भर्दा पनि खुसी हुनुपर्ने अवस्था नरहेको निजी क्षेत्रको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले यहाँबाट नेपालको राष्ट्रिय ध्वजावाहक विमान र हिमालय एयरलाइन्सले उडान नगरेसम्म विदेशी विमानको भर पर्न नसकिने बताउनुभयो । “विदेशी एयरलाइन्सले एकपटक सुरु गरेर बीचमा रोकेर फेरि सञ्चालन गरिदिएको भन्दै खुसी हुनु हाम्रो दुर्भाग्य हो”, न्यौपानेले भन्नुभयोे, “नेपाल सरकार कहाँ छ ? यसका सम्बद्ध निकाय कहाँ छन् ?, राजनीतिक संयन्त्र कहाँ छ ? यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ । फोर इ–क्याटेगरीको विमानस्थलमा नवौँ क्याटेगरीको दमकल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चारवटा न्यारोबडी र एक वाइडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.