राजनीति

ब्रिटेनकी राज्यमन्त्रीलाई प्रश्न- ६० हजार वर्ग किलोमिटर नेपाली भूमि अहिलेसम्म किन फिर्ता भएन

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ब्रिटेनकी परराष्ट्र मामिला तथा कमन वेल्थ राज्यमन्त्री अन्ने मेरी ट्रेभेल्यानलाई सुगौली सन्धिबाट गुमेको भूमि फिर्ता नगर्नुको कारण माग गर्दै पाँच बुँदे पत्र पठाएको छ ।

नेपाल र ब्रिटेनबीच सन् १९२३ डिसेम्बर २१ मा भएको सन्धिको शत वार्षिकीका अवसरमा नेपाल आएकी राज्यमन्त्री ट्रेभेल्यानसामु सुगौली सन्धिबाट नेपालले ब्रिटेनलाई सुम्पेको ६०००० वर्ग किलोमिटर जमिन आजसम्म ब्रिटेनले फिर्ता नगर्नुको कारण माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मोर्चाले राज्य मन्त्री अन्ने मेरीसँग सन् १९४७ जुलाई १८ मा ब्रिटेनले आफ्नो संसदद्वारा Indian Independence Act पारित गरी १९४७ अगस्त १४ र १५ मा पाकिस्तान र इन्डियाको निर्माण गर्दा नेपालको भूमि नेपालको कुनै सहमतिबिना इन्डियामा छाड्नुको कारण माग गरेको छ ।

१९५० अक्टोबर ३० मा भएको नेपाल-ब्रिटेन सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरे पनि त्यो जमिन आजका मितिसम्म इन्डियाको उपनिवेशमा रहेकोमा आपत्ति जनाउँदै मोर्चाले प्रश्न सोधेको छ ।

मोर्चाको प्रश्न छ- “सन्धिमा सही गर्ने तर त्यसको पालना नगर्ने हो भने सन्धि गर्नुको औचित्य के ? के ब्रिटेनले नेपाली भूमिमाथिको उपनिवेश १९४७ अगस्त १५ मा इन्डियालाई हस्तान्तरण गरेको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ? स्वतन्त्र मुलुक नेपालको जमिन नेपालको लिखित सहमतिबिना ब्रिटेनले इन्डियालाई जिम्मा लगाउन मिल्छ ? उपनिवेशको पीडा हामीले कहिलेसम्म भोगिरहने? त्यो जमिन हामीले कहिलेसम्ममा फिर्ता पाउँछौँ ?”

पत्रको बोधार्थ अफगानिस्तान , बङ्गलादेश, भुटान, इन्डिया, चीन , माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्री तथा सार्क सचिवालयलाई समेत दिइएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले वारम्वार ज्ञापनपत्र बुझाए पनि ब्रिटेनले कुनै प्रतिक्रिया नदिएको विषयमा सोध्दा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले यसो गरेर मोर्चाले सुगौली सन्धिको मुद्दालाई मर्नबाट बचाएको र सरकारका निम्ति पृष्ठभूमि र वातावरण बनाइदिएको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.