आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ सिलवाल टोल बस्ने ३५ वर्षीया सीता लामाको कुखुरा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै धनकुटा, महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ६१ वर्षीय छबिलाल विकको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै बर्दिया, गुलरिया नगरपालिका-११ लालपुर बस्ने सुकराम अहिरको कच्ची घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट लक्ष्मिनारायण टोल बस्ने ज्ञानेन्द्र बर्तौलाको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।यता बारा, कलैया उपमहानगरपालिका-१४ भौरहा टोल बस्ने २६ वर्षीय सोबराती मिँयाको घरमा आइतबार राति लागेको आगो फैलिएर मिया समेत ६ जनाको ५ वटा घर र १ वटा गोठ जलेर करिब ११ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बारा, निजगढ नगरपालिका-६ भमरा टोल बस्ने ७५ वर्षीय रामहरि तिमिल्सिनाको गोठमा सोमबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ५५ वर्षीय ध्रुब तिमिल्सिनाको गोठमा समेतमा आगालागी हुँदा दुबै जनाको गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी बाँके, खजुरा गाउँपालिका-५ उडरापुर बस्ने ५५ वर्षीय धनिराम यादवको कच्ची घरमा करेन्ट सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।यता चितवन, रत्ननगर नगरपालिका-१ सौराहा चोकस्थित साहारा सुपर मार्केटभित्र मन्जु सापकोटाको सुहाना फेन्सी कलेक्सनमा करेन्ट सर्ट भई आइतबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।
त्यस्तै मोरङ, बेलबारी नगरपालिका-२ रमिते डाँडा बस्ने पदम बहादुर खड्काको गोठमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी झापा, मेचिनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती प्लाई उद्योगमा चिफरको धुलो तात्न गई सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट उक्त उद्योगमाभित्र रहेको क्वाटर, काठको गोलियाहरू समेत जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।
उता सप्तरी, बिष्णुपुर गाउँपालिका-१ बस्ने ५८ वर्षीय महेन्द्र साहको टुन टुन मदिरा पसलमा गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्