जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यहरूको अद्र्धर्षिक समीक्षा गरेको छ ।

आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको समिक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयमा संचालित योजना तथा विकास निर्माणका कार्यहरूको समिक्षा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तिनै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै तिनै तहका सरकार र निकायहरू समयमा काम सम्पन्न गर्ने गरी लागि पर्न आग्रह गर्नुभयो ।
पौडेलले निर्माणाधीन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गर्दै यदि त्यस्तो पाइएमा कुनै सम्झौता नहुने पनि बताउनुभयो ।
उहाँले स्रोतको उचित प्रयोग, गुणस्तरमा प्रतिबद्धता र जनगुनासोको सम्बोधन सहित समयमा बिकास निर्माणका काममा लाग्न सबै स्थानीय तह र विभिन्न बिभागीय कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका प्रमुख सहसचिव कुमार थापा, जिल्ला समन्वय अधिकारी नवराज बराल, रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायतले विकासमा विभागीय कार्यालयहरूको एकीकृत समन्वयमा जोड दिनुभएको थियो ।
कार्यक्रममा कास्कीका छनोट भएका कुल २२ वटा कार्यालय मध्ये २० वटाले आआफ्नो प्रस्तुति गरेका र नेपाल विद्युत प्राधिकरण मालेपाटन र जलस्रोत तथा सिंचार्इ विकास डिभिजन कार्यालय कास्कीअनुपस्थित रहेको जिसस कास्कीले जनाएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९५ बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको थियो। कास्कीमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा पूँजीगत खर्च औषतमा १५ प्रतिशत मात्रै खर्च भएको पाइएकोले कार्यसम्पादन स्तर सुधार्न निर्देशन दिइएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्