पदभार ग्रहण गरेसंगै राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजिनामा
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराउनुभएको छ ।
साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँलाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।




प्रतिक्रिया राख्नुहोस्