राजनीति

चलचित्र समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम हो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबारदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौँ संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताउनुभयो ।

“चलचित्र मनोरञ्जन मात्र नभई समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो । यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ”, उहाँले भन्नुभयो, “सिङ्गो नेपाली चलचित्रकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले चलचित्रलाई झन् सुन्दर बनाउँछ ।”

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि चलचित्र विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गर्नुभयो । उहाँले चलचित्रसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।”

यही चैत ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । “कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो । हामी यसलाई अझैँ भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा छलफल र सहकार्य गर्ने वातावरण बनाएको छ ।”

महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताउनुभयो ।

बिहीबारको कार्यक्रममा निर्देशक प्रकाशबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित हुनुहुन्थ्यो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जनाएकाे छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.