एन आर एन न्युज

एनआरएनएको नवीकरण प्रक्रिया तत्काल अघि बढ्छ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को रोकिएको नवीकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीसँग सरकारी निवासमा भएको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

भेटमा परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नविकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाए लगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो ।

संघका अध्यक्ष डा केसीले मन्त्रीमण्डलको पुर्नगठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएको प्रति धन्यवाद समेत दिनुभयो ।

डा केसीले गैरआवासीय नेपाली संघ सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

संस्थाको विधि तथा विधानको अधिनमा रहेर संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको अध्यक्ष डा केसीले बताउनुभयो ।

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघमा पछिल्लो समयमा देखिएका असन्तुष्टीहरुको बारेमा आफु पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गर्नुभयो ।

संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताउनुभयो ।

यसअघि पनि अध्यक्ष डा केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरी संघको समसामायिक गतिविधि र नवीकरणका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.