राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने, गगनको राजीनामा अस्वीकृत गर्ने तयारी

आगामी शुक्रबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । बुधबार सभापति पदबाट राजीनामा दिनुभएका सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको एक स्रोतले बतायो ।

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

त्यस्तै बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नुहुने एक नेताले बताए । बैठकमा गगन थापा सहभागी नहुने भएपछि बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नुहुने भएको हो । बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी गरेको स्रोतले बतायो ।

उपसभापति शर्माले चुनावी परिणामको जिम्मेवारी कुनै एउटा व्यक्तिले मात्र लिनु नपर्ने तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गर्नुहुने स्रोतले बतायो ।

कांग्रेस विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएका थापा गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित हुनुभएको थियो । उहाँ रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहसंग पराजित हुनुभएको थियो ।

निर्वाचनमा पराजित भएसंगै गगनले राजीनामा दिन खोजे पनि उपसभापति विश्वप्रकाश शर्मा लगातयतका नेताहरुले रोकेका थिए । ललितपुर लगायतका विभिन्न जिल्लाका नेताहरूले थापाले राजीनामा दिन नहुने भन्दै संयुक्त विज्ञप्ति समेत जारी गरेका थिए ।

यसैगरी बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.