राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी, छिट्टै उद्घाटन हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । यसअघि जारी अध्यादेश निस्क्रिय भएपछि नयाँ अध्यादेश जारी भएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कानुनको अभावमा रेल संचालनमा पुगेको बाधा अध्यादेश जारी भएपछि कानुनी समस्या हुने छैन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार बढीमा दुई साता भित्र रेलको आधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने छ ।
भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि छिट्टै मिति तय हुने महाप्रबन्धक झाको भनाइ छ ।
२०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना परीक्षण जारी छ । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।
रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्