राजनीति

परराष्ट्रमन्त्रीद्वारा नेपाली नियोग प्रमुखहरुसंग भिडियो कन्फरेन्स

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरुसँग ती मुलुकमा रहेका नेपालीको रोजगारीमा पछिल्लो समय परेको प्रभाव र भावी सम्भावनाका बारेमा छलफल गर्नुभएको छ ।

सोमबार भिडियो कन्फरेन्स मार्फत कोभिड–१९ सङ्क्रमणको स्थिति ती मुलुकहरुमा रहेका नेपालीको अवस्था कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पर्नसक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभावमा केन्द्रित रहेर छलफल गर्नुभएको छ ।

उहाँले सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै नियोग प्रमुखलाई आफू प्रमाणीकृत मुलुकहरुमा भएका सङ्क्रमणसम्बन्धी नियमितरुपमा प्रतिवेदन गर्ने, नेपालीको स्वास्थ्य, सुरक्षा तथा रोजगारी सम्बन्धमा रोजगारदाता कम्पनी र सरकारसँग निकट सम्पर्कमा रही आवश्यक काम गर्न निर्देशन दिनुभयो ।

साथै, उहाँले नेपालीलाई स्थानीय सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न सुसूचित गराउन तथा नेपाली समुदाय र दूतावास परिवारसमेत सङ्क्रमणका बारेमा जागरुक रही सुरक्षाका आवश्यक उपाय अवलम्बन गर्न पनि निर्देशन दिनुभयो ।

नियोग प्रमुखहरुले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरुमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पुर्‍याइरहेका नियमित र आकस्मिक सेवाबारे जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव क्रमशः शङ्करदास वैरागी र विनोद केसीको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.